
भीमदत्तका मेयर र प्रशासनको आडमा कुमारी बैंकले अघि बढायो जालसाचीमा बैंक पुगेको जग्गाको लिलाम प्रक्रिया, पीडित परिवारको बैंकमा अनिश्चितकालिन धर्ना

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ का थम बहादुर कामीका परिवारका विहानदेखि कुमारी बैंकमा धर्ना बसेका छन् । बैंक कर्मचारी र भूमाफियाको मिलेमतोमा जालसाची गरी आफ्नो जग्गामा बैंकका धितो राखेर लिलाम गर्न खोजिएको भन्दै विकका धर्मपत्नि राधादेबी र छोरा प्रकाशले आइतबारदेखि बैंकमा धर्ना थालेका हुन् ।
आइतबार दिउँसोदेपखि धर्ना बसेका उनीहरुले जालसाची गरी बैंकमा धितो राखिएको तीन कट्टा ११ धुर जग्गा फिर्ताका लागि अनिश्चितकालिन धर्ना बसेका हुन् ।

बैंकमा कालो ब्यानर लगाएर धर्ना बसेका उनीहरुले हातमा कालो पट्टी बाँधेका छन् । बैंकले आफूहरुलाई जानकारी नदिई आफ्नो जग्गा भूमामिया गिरोहको मिलमेमतोमा धितो राखेर लिलाम गर्न खोजिएको उनीहरुको भनाई छ ।
पाँच वर्ष अघि निधन भएका कामीका परिवारले कुमारी बैंक जग्गा लिलामका लागि घरमा पुगेपछि मात्रै जग्गा बैंकमा धितोर राखिएको थाह भएको थियो । कामी परिवारको जग्गा उनका आफन्तले लक्ष्मण विष्टबाट ८ लाख ऋण लिएर दृष्टिबन्धन गरेको थियो । दृष्टिबन्धक गरिएको जग्गा चन्द्र गिरीले किनेर तत्कालिन एनसीसी बंैकको अत्तरिया शाखामा धितो राखेर ऋण लिएका थिए ।
प्रकाशकी आमा राधादेबीले आफूहरुलाई जानकारी नदिई जग्गा बेचेर बैंकमा राखेर लिलाम गर्न खोजिएकाले न्याय पाउन धर्ना बसेको बताइन् । आफ्नो जग्गा फिर्ता नभएसम्म धर्ना बस्ने राधादेबीले बताउँछिन् ।
बैंकले गत पुसमा जग्गा लिलाम प्रक्रिया अघि बढाएपछि कामी परिवारले त्यसलाई रोक्न माग गर्दै बैक सहितका विभिन्न निकाय गुहारेको थियो । त्यसपछि भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयमा बैंक र पीडित पक्षबीच छलफल भएर बैंक ऋण तिरी कामी परिवारलाई जग्गा फिर्ता गर्ने सम्झौता भएको थियो । त्यसपछि बैंकमा कामी परिवारले १० लाख रुपैँया जम्मा गरेका छन् ।
बंकले स्थगित जग्गा लिलाम प्रक्रिया फेरि एकाएक अघि बढाउन लागेपछि पीडित परिवार न्यायका लागि धर्ना बसेका बताउँछन् । बैंकले अहिले लिलाम प्रक्रियामा सहभागी प्रकाश भट्टको नाममा जग्गा पास गर्ने गरी अघि बढेको उनीहरु बताउँछन् ।
यस अघि वडा कार्यालयले घर बाटो सिफारिश नदिएपछि जग्गा नामसारी प्रक्रिया रोकिएको थियो । जिल्ला प्रशासन कार्यालयबाट वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटालाई घर बाटो सिफारिश नदिएको भन्दै फोनमा धम्की आएको उनले फेसबुकबाट सार्वजनिक गरेका थिए ।
वडा कार्यालयको सम्झौतापछि बैंकले भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र प्रशासन कार्यालयमा छलफल गरी लिलाम प्रक्रिया अघि बढाएको हो ।
भीमदत्तका मेयर बोगटी र प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतसित छलफलपछि र्बैंकले लिलाम प्रक्रियामा आफ्नो बोली फेरेर अघि बढेको उनीहरु बताउँछन् ।
‘वडा कार्यालयमा भएको निर्णय कार्यान्वयन होस, त्यो निर्णय कार्यान्वयन हुनु प¥यो, पहिले जग्गा मलाई दिने भनियो, अहिले त्यसैका नाममा हाल्ने प्रक्रिया अघि बढेको छ’ कामीका छोरा प्रकाशले भने,‘सम्झौता अनुसार जग्गा फिर्ता हुनु पर्ने भन्ने माग हो ।’
बैंकले सम्झौता मिचेर अचानक जग्गा नामसारी गर्ने प्रक्रिया अघि बढाएको उनले बताए । प्रकाशकी आमा राधादेबीले बैंकमा १० लाख रुपैँया जम्मा गर्न लगाएर अहिले आएर अर्कैलाई जग्गा बेच्न खोजिएको बताइन् ।
‘मेरो जग्गा कसरी बैंकमा पुग्यो, कसले किन राख्यो, त्यहीं जग्गा फिर्ताका लागि भनि रहेका छौ’ उनले भनिन्,‘अहिले आएर उसैको हुन्छ, मेरो जग्गा अरु कसको कसरी हुन्छ ?’
कामी परिवारले मालपोत कार्यालयमा जालसाची र किर्ते कागजात बनाएर आफूहरुको जग्गा नामसारी गरिएको दावी गरेका छन् । जग्गा दृष्टि बन्धन राखेर विष्टले जग्गा आफ्नो नाममा नामसारी गरी १८ लाखमा गिरीलाई बिक्री गरेका थिए ।
अहिले जग्गाको चलनचल्ती मूल्य डेढ करोड बढी छ । कामी परिवारले यो जग्गा २०२२ सालदेखि भोगचलन गर्दै आएका छन् । गिरीलाई बेच्न अघि विष्टले कामी परिवारलाई जग्गा फिता गर्ने कागज बनाएका थिए । विष्टले प्रहरी कार्यालयमा कागज बनाएपछि गिरीलाई बेचेका हुन् ।
अल स्पोर्टस हाउस सञ्चालन गरेका गिरी केही वर्षदेखि फरार छन् । गिरी जग्गा भन्दै बैंक कामीको घर पुगेपछि मात्रै जग्गा बैंक धितो राखिएको खुलेको थियो ।
बैंकको अत्तरिया शाखा प्रबन्धक किसन पाल र केन्द्रीय कार्यालयमा रिकभरी अफिसर भुवन पाण्डेयले आर्थिक चलेखल गरी जग्गा लिलाम गर्न खोजेको उनीहरु बताउँछन्. ।
बैंकले कामी परिवारलाई रकम जम्मा गरे जग्गा फिर्ता गर्ने आश्वासन दिएपछि ५६ लाखको चेक बोकेर कामी परिवार बैंक कार्यालय पुगेका थिए । बैंक कर्मचारीले माथिको निर्देशन भन्दै चेक जम्मा गर्न नमानेर फिर्ता गरि दिएको थियो ।
बैंकका शाखा प्रबन्धक खडक सिह मडैले दुई पक्षबीच सहमति हुन नसकेपछि बैंकले कानुनी प्रक्रिया अनुसार जग्गा नामसारी प्रक्रिया अघि बढाएको बताए ।
‘वहाँहरुको सहमति भएन, सिडिओ कार्यालयमा पनि बसियो, मेयर सापसित पनि बसियो, सहमति भएन, त्यसपछि बंैकले कानुनी प्रक्रिया जाने कुरा भन्यो, अहिले त्यसै अनुसार अघि बढेका छौ’ उनले भने ।
