

महेन्द्रनगर । भीमदत्त नगरपालिका १२ ले महाकाली नदीको चार लेन पक्की पुलसंगै निर्माण हुन लागेका पोखरीमा नौका विहार सञ्चालनका लागि तालिम लिन स्थानीयलाई पोखरा पठाएको छ ।
उनीहरुले पोखराको फेवातालमा नौकाविहार सञ्चालनका लागि तालिम लिन लागेका छन् । वडा कार्यालयले चालु आर्थिक वर्षको वडाको कार्यक्रमबाट ४ जनालाई नौकाविहार सिक्न पठाएको वडा अध्यक्ष भुपेन्द्र सिह रावलले बताए ।

चार लेनको पोखरीको भीमदत्त र दोधारा चाँदनी दुबैतिर दुई÷दुई ओटा विशाल पोखरी बनाउन लागिएका हुन् । भीमदत्त नगरपालिका क्षेत्रमा पर्ने दुई पोखरीमध्ये उत्तरको पूरै र दक्षिणको आधा पोखरी १२ नम्बर वडामा पर्छ । वडा अध्यक्ष रावलले ती दुबै पोखरीमा नौका विहार सञ्चालनका लागि सीप सिकाउन स्थानीयलाई पोखरा पठाएका हुन् ।
वडा अध्यक्ष रावलले चार लेन पुलका पोखरीलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य राखेर अघि बढेको बताए । ‘यो चार लेन पुल छेउमा ठूला पोखरी बन्दैछन्, हामी ती पोखरीलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न चाहन्छौ’ उनले भने,‘पर्यटनका लागि नौका विहार आवश्यक छ, त्यसका लागि तालिम दिएर सिकाई रहेका छौ ।’
महाकाली पुल आयोजनाले भीमदत्त र दोधारा चाँदनी नगरपालिका जोड्ने गरी महाकाली नदीमा चार लेनको पक्की पुल बनाउन लागेको हो । २०७४ मा शिलान्यास गरिएको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले पुलको दुबै छेउतिरका तलाउ(पोखरी ) निर्माण कार्यलाई तीव्रता दिइएको छ ।
वडा अध्यक्ष रावलले चार लेन पुल र ६ लेनको पक्की सडकलले १२ नम्बर वडा सुदूरपश्चिम प्रदेशको ठूलो र प्रमुख नाकाका रुपमा विकास हुन लागेको बताए । गड््डाचौकी हुँदै चार लेन पुल भएर दोधारा चाँदनी पुगेको ६ लेन सडकलाई वडा भएर जोड्ने कार्य अघि अघि बढेको वडा अध्यक्ष रावलले बताए ।
उनका अनुसार मझगाउँसम्म पुगेको एडिबी अनुदानको सडक निर्माण कार्यलाई ६ लेन पुलसम्म पुगाउन लागिएको हो । त्यसका लागि एडिबीसित छलफल भएर सडकको नाप जाँच लगायतका कार्य सुरु गरिएको वडा अध्यक्ष रावलले बताए ।
महाकाली नदीको चार लेन पुलले वडाका वासिन्दाको आर्थिक अवस्था सुधार आउने अपेक्षा गरिएको उनले बताए । पुल सञ्चालनमा आएपछि स्थानीयलाई वडामा रोजगारी अवसर सिर्जना हुने विश्वास वडा अध्यक्ष रावलले लिएका छन् ।
वडा कार्यालयले नौका विहार सञ्चालन सिक्न स्थानीयलाई पोखरा पठाउन लागेपछि एक गैर सरकारी संस्थाका कर्मचारीले भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमलाई कार्यकक्षमा भेटेर गुनासो पोखेका थिए । प्रमुख प्रशासकीय अधिकृत बमसित संस्थाकी ती कर्मचारीले आफूहरुले खल्ला मुसेट्टीमा उनीहरुलाई सिकाउने र पोखरा पठाउन नहुने भन्दै आपत्ति जनाएकी थिइन् ।
प्रमुख प्रशासकीय बमसित ती कर्मचारीले खल्ला मुसेट्टीमा आफहरुले सिकाउने जनशक्ति तयार गरेको दावी गरेको कार्यालयका कर्मचारीहरुले बताए । उनीहरुका अनुसार पानी दिवसमा त्यस संस्थासित नगरपालिकाले समन्वय गरी साहसिक जलयात्रा कार्यक्रम गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत बमसित गुनासो पोख्ने कर्मचारीले त्यस कार्यक्रमको नृेतृत्व गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत बमले वडा कार्यक्रम भएकाले आफूले केही गर्न नसक्ने जवाफ दिएका थिए ।
भीनपा १२ का वडा अध्यक्ष रावलले खल्ला मुसेट्टीमा साहसिक जलयात्रा सिक्न सकिने र स्थिर पानीमा नौका विहारका लागि सिकाउन नसकिने अवस्था भएको बताए ।
‘यो पोखरीमा स्थिर पानी हुन्छ, त्यस कारण खल्ला मुसेट्टीमा सिक्न सकिँदैन’ उनले भने,‘त्यसैले पोखरा पठाएका हौ ।’
