महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले तत्कालिन महेन्द्रनगर विकास समितिको जग्गामा निर्माण गरिएका अवैध संरचनाको चावी बुझाउन सार्वजनिक रुपमा आव्हान गरेका छन् । उनले अवैध संरचना भत्काएर लैजान पनि सम्बन्धित सबैमा आग्रह गरेका छन् ।
भीमदत्त नगरपालिकाले गत शनिबारदेखि नगर विकास समितिको जग्गामा बनाएका अवंैध संरचना भत्काउने थालेको हो । एक सातामा होटेल ओपेरा पछाडि सहित पूरानो बसपार्क क्षेत्रमा अवैध निर्माण गरिएका संरचना डोजर लगाएर भत्काएका छन् ।
नगरपालिकाले डोजर लगाएर ती संरचना भत्काएको हो । नगर विकास समितिको रिजर्भ एरियामा पर्ने ओपेरा पछाडिको जग्गामा पाँच वर्ष अघि अवैध रुपमा संचरना निर्माण कार्य थालिएको थियो । राजनीतिक दल र स्थानीय प्रशासनको सक्रियतामा संरचना निर्माण कार्य रोकिएको थियो ।
ओपेरा पछाडि निर्माणाधिन र पूरानो वसपार्कमा निर्माण गरिएका संरचनामा एक साताभित्र डोजर लगाएर भत्काइएको छ । भीमदत्तले ओपेरा पछाडि संरचना भत्काउने कार्यलाई पहिलो चरणको अभियान नाम नाम दिएको छ ।
एक साताु अघि पहिलो चरणको अभियान सुरु भएपछि दोस्रो चरणका लागि प्रक्रिया थालिएको थियो । त्यसका लागि नगरपालिकाले भीमदत्त नगर विकास समितिको निर्णय अनुसार अवैध संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो ।
नगरपालिका कार्यालयका सार्वजनिक सूचना सम्बन्धित व्यक्तिलाई नगर प्रहरी र कर्मचारी लगाएर दिइएको छ ।
जेठ १४ गतेसम्मका लागि जारी सार्वजनिक सूचनाको म्याद सकिन लाग्दा नगर प्रवक्ता अवस्थीले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट अवैध संरचना लैजान वा त्यसका चावी बुझाउन सार्वजनिक रुपमा आग्रह गरेका हुन् ।
‘सार्वजनिक सम्पत्तिमा लोभ नगरु, सम्पूर्ण दाजुभाइ दिदी बहिनी इष्टमित्रज्यूलाई १४ गतेभित्र आफूले बनाएका संरचना खाली गरी चाबी बुझाउन वा संरचना लगेर जानका लागि अनुरोध गरिन्छ’ नगर प्रवक्ता अवस्थीले भनेका छन्, ‘अदालतले गरेको निर्णय अथवा सर्वदलीय सर्वपक्षीय र सम्बन्धित कार्यालयले गरेको निर्णय अटेरी गरेमा जनताले अहिलेसम्मको बिगोको कुरा समेत उठाइ रहेकोे कुरा जानकारी गराउँदछु ।’
भीमदत्त नगर विकास समितिमा केही दिन अघि प्रमुख जिल्ला अधिकारी सहित जिल्लास्थित सबै सुरक्षा निकाय सहितको उपस्थितिमा गरिएको बैठकले विभिन्न चरणमा अवैध संरचना हटाउने निर्णय गरेको थियो ।
नगर विकास समितिको निर्णयपछि भीमदत्त नगरपालिकाले ओपेरा पछाडिका अवैध संरचनामा डोजर लगाएको हो । त्यस क्षेत्रमा अवैध संरचनाका सरिया, इटा लगायतका समान टिप्नेको दैनिक भीड लागेको छ ।
दोस्रो चरणमा सुरु हुने अभियानलाई नगरपालिकाले डोजर नलगाई उनीहरुको चावी बुझाउने मौका दिएको हो । चाबी बुझाएका संरचनालाई भीमदत्त नगर विकास समितिले स्वामित्वमा लिने तयारी गरिएको छ ।
यस अघि यातायात र मालपोत कार्यालय नजिकका दुई भवनमा रातो चिन्ह लगाएर नगरपालिकाले आफ्नो स्वामित्वमा लिएको थियो । अहिले फेरि बजार क्षेत्रका अन्य संरचनाको पनि स्वामित्व लिन चाबी हस्तान्तरणका लागि आग्रह गरिएको हो ।
दोस्रो चरणमा चावी हस्तान्तरण गरिएका संरचनालाई सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने कञ्चनपुरका साँसदहरुसिछ छलफल गरी संरचनालाई के गर्ने भन्ने निर्णण् लिने नगर प्रवक्ता अवस्थीले बताए ।
‘पहिला चाबी लिन्छौ, चाबी लिइ सकेपछि प्रदेश सहितको टीम बसेर ती संरचनालाई के गर्ने भन्ने निर्णय गर्छौ’ उनले भने,‘त्यो छलफले जे भन्छ, त्यस अनुसार हुन्छ ।’
छलफलमा डोजर लगाउने निर्णय भए ती संरचनामा डोजर लगाउने उनले जानकारी दिए ।
दोस्रो चरणमा सर्वोच्च अदालतबाट रिट खारेज भएका सहित भीमदत्त नगरपालिका आफैंले योजना सम्झौता गरी निर्माण गरिएका लगायतका संरचनालाई चाबी बुझाउने मौका दिइएको हो ।
नगर विकास समितिको जग्गा कब्जा गरी निर्माणमा गरिएका दुई संरचनामा नगरपालिकाले चालु आर्थिक वर्षमा योजना सम्झौता गरेको छ ।
ती दुबै संरचनाको भुक्तानी प्रक्रिया अन्यौलमा परेको छ । त्यसमध्ये सुदूरपश्चिम दलित छात्राबासका अध्यक्ष हरिहर परियार आफैं भीमदत्तको कार्यपालिका सदस्य छन् । अर्को एनडी प्रकाश चटौतको स्मृति भवनमा पनि योजना सम्झौता गरिएको हो ।
ती दुबै संस्थाले योजना सम्झौता अनुसार भुक्तानी दिन नगरपालिकालाई दबाव दिँदै आएका छन् ।
कार्यपालिका सदस्यको अवैध छात्राबास जोगाउन मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी आफैं लागि परेका छन् । नगर विकास समितिको बैठकमा छात्राबासलाई भुक्तानीका लागि प्रमुख प्रशाकीय अधिकृत महेश बहादुर बमले प्रमुख जिल्ला अधिकारीसित सल््लाह गरेका थिए ।
भीमदत्त नगरपालिकाले दोस्रो चरणमा चाबी लिएर छलफल गरी निर्णय गरेपछि मात्रै तेस्रो चरण सुरु गर्ने भएको छ । तेस्रो चरणमा भीनपा १८, ४, ९, १५ र खोका छाप्राको जग्गामा अभियान सुरु गर्ने तयारी गरिएको छ ।
भीमदत्त नगरपालिका १८ का सुकुम्बासी र मजदुर परिवारको व्यवस्थापनकाा लागि अदालतबाट आदेश आएको जानकारी आएकाले आदेश अध्ययन गरी अघि बढ्ने नगर प्रवक्ता अवस्थीले बताए ।