विद्युत भोल्टेज बढाउन माग गर्दै दोधारा चाँदनीमा सव स्टेशन घेराउ, मेयर लिम्बुमाथि स्वतन्त्र समूहका संयोजक कुमालको कटाक्ष
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकास्थित विद्युतको सव स्टेशन घेराउ गरी स्थानीयले विद्युत सेवा अवरुद्ध गरेका छन् । आइतबार विहान स्थानीयले सव स्टेशन कार्यालय घेराउ गरेका हुन् । घेराउपछि उनीहरुले दोधारा चाँदनीमा विद्युत आपूर्ति अवरुद्ध गरि दिएका छन् ।
विद्युतको न्यून भोल्टेज बढाउनु पर्ने माग राखेर उनीहरु विहानै आन्दोलित हुन पुगेका छन् । दोधारा चाँदनीका वासिन्दाले लामो समयदेखि विद्युत भोल्टेज बढाउनु पर्ने माग गर्दै आएका छन् ।
दोधारा चाँदनीमा न्यून भोल्टेजका कारण वासिन्दाले अहिले अत्यधिक गर्मीमा पंखा चलाउन पाएका छैनन् । यसैगरी पानी तान्न पम्प चलाउन र कहिलेकाँही डिम लाइट भएर उज्यालो पनि नहुने उनीहरु बताउँछन् ।
दोधारा चाँदनीमा चाँदनीस्थित सब स्टेशनबाट सबै १० वडामा विद्युत आपूर्ति गरिएको छ । वासिन्दाले स्थानीय, प्रदेश र संघ सरकारलाई विद्युत समस्या समाधान गर्न माग गर्दै आएका छन् ।
आइतबार विहान वासिन्दाले स्टेशन घेराउ गरी कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद रमेश लेखक, सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना र दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुलाई दबाव दिएका छन् ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य राना दोधारा चाँदनीका स्थानीय हुन् । २०७९ को स्थानीय तथा प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा पनि उनीहरुले विद्युत समस्या समाधानको माग राखेका थिए ।
स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचित भएपछि लिम्बुले विद्युत समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई दोधारा चाँदनी ल्याएका छन् ।
मेयर लिम्बुले काठमाडांैमा कार्यकारी निर्देशक घिसिङ्गसंग पटक पटक भेटघाट गरिएका तस्बिर आफ्नो सामाजिक सञ्जालबाट सार्वजनिक गरि सकेका छन् ।
मेयर लिम्बले गत वर्ष नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा विद्युत समस्या छिटो समाधान हुने धारणा राखेका थिए । उनले त्यसका लागि प्राधिकरणले बजेट विनियोजन गरि सकेको जानकारी दिएका थिए ।
मेयरले सार्वजनिक रुपमा गर्दै आएका वाचा अनुसार विद्युत समस्या हल नभएर स्थानीय आन्दोलनमा उत्रिएपछि स्वतन्त्र समूहका संयोजक भीम कुमालले आइतबार मेयर लिम्बुलाई उनको नाम नलिई कटाक्ष गरेका छन् ।
उनले फेसबुकमा मात्रै चार वेत्ताका कुरा गरिएको भन्दै मेयरमाथि कटाक्ष गरेका छन् । स्थानीय तह निर्वाचनमा कुमाल लिम्बुसंगै स्वतन्त्र समूहबाट मेयरमा चुनाव लडेका थिए ।
स्वतन्त्र समूहका कुमालले दोधारा चाँदनीको विद्युतको समस्या सुनुवाई नभएपछि सव स्टेशन घेर्ने अवस्था आएको बताए ।