
महेन्द्रनगर । खुला मञ्चमा मंगलबारदेखि एक सातासम्म तनाव व्यवस्थापन तथा बृहत् योग शिविर सञ्चालन हुने तयारी गरिएको छ । महिला पतञ्जली योग समिति नेपालले भीमदत्त नगरपालिकाको साझेदारीमा मंगलबारदेखि सात दिने शिविर सञ्चालन गर्न लागेको हो ।
जेठ १५–२१ गतेसम्म हरेक दिन बिहान ४ः३० देखि ७ः०० बजेसम्म शिविर सञ्चालन हुने मूल समिति संयोजक भावना केसीले जानकारी दिइन् ।

‘योग शिविरमा जेठ १५ र १६ गते युवा नेपाल समितिका मुख्य केन्द्रीय प्रभारी पुज्य साध्वी डा. देवविजयाजी, जेठ १७ र १८ गते महिला पतंजलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी पुज्य साध्वी देवादितीजी र जेठ १९ र २० गते कर्णाली प्रदेश सेवा प्रभारी स्वामी कर्णदेवजी महाराजले शिविरमा प्रशिक्षण दिनुहुनेछ’ आइतबार भीमदत्त नगरपालिकामा शिविर सम्बन्धि जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले भनिन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शिविर उद्घाटन गर्ने पतञ्जली योग समिति नेपालका केन्द्रीय सदस्य लवराज भट्टले जानकारी दिएका छन् ।
शिविरलाई व्यवस्थापन गर्न महिला पतंजलि योग समिति नेपाल कञ्चनपुरका जिल्ला उपाध्यक्ष भावना केसीको संयोजकत्वमा १ हजार १११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
मूल समिति मातहत आर्थिक व्यवस्थापन उपसमिति, प्रचारप्रसार उपसमिति, मञ्च व्यवस्थापन उपसमिति र स्वागत सत्कार उपसमितिले आवश्यक तयारीका काम गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
निःशुल्क सञ्चालन हुने योग शिविरमा सहभागिताका लागि २५ हजारभन्दा बढी व्यक्तिसम्म प्रत्यक्ष प्रचारप्रसार गरिएको छ । शिविर व्यवस्थापनको खर्च मूल समितिका सदस्य र भीमदत्त नगरपालिकाको सहयोगबाट व्यवस्थापन हुने जनाइएको छ ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथि साध्वी डा. देवविजयाजीले हरेक व्यक्ति योग अभियानमा आवद्ध भएर राष्ट्रलाई समृद्ध बनाउन सकिने बताइन् ।
पत्रकार सम्मेलनमा भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले योग शिविरलाई सफल पार्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए ।
मूल आयोजक समिति संयोजक भावना केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधवसिंह धामी, पतंजलि योग समितिका पदाधिकारी लगायतको उपस्थिति थियो ।
पतञ्जली योग समिति कञ्चनपुरका मिडिया प्रभारी प्रेमसिंह भाटले कार्यक्रम सञ्चालन गरे ।
