महेन्द्रनगर । होटेल ओपेरा सञ्चालक खगेश्वर बोहराले भीमदत्तका मेयर पदम बोगटीलाई विवादित स्विमिङ्ग पुलको चाबी बुझाउने तयारी गरे पनि मेयर अन्तिममा पछि हटेका छन् । मेयर बोगटी विशेष कारणले होटेल ओपेरामा आएर चाबी बुझ्न नसकेको बोहराले बताए ।
होटेले ओपेराले मेयर बोगटीको प्रमुख आतिथ्यमा सोमबार विहान पत्रकार सम्मेलन गरी स्विमिङ्ग पुलको चाबी बुझाउने तयारी गरेको थियो । अन्तिममा मेयर बोगटीले नगर प्रवक्ता पदमराज अवस्थी र भीनपा ४ का वडा अध्यक्ष एबम् भीमदत्त नगर विकास समितिका सदस्य सुशिल कुमार भट्टलाई ओपेरा पठाएर चाबी लिएका छन् ।
पत्रकार सम्मेलनमा मेयर बोगटी सहभागी नभएकोबारे पत्रकारहरुले सञ्चालक बोहरासित जिज्ञासा राखे । त्यसको जवाफमा सञ्चालक बोहराले मेयर बोगटी विशेष कारण कार्यक्रममा आउन नसकेको बताए ।
‘वहाँ विशेष कारणले आउनु सक्नु भएन, १२ नम्बर वडाको शिलान्यास छ, सेनाको पनि कार्यक्रम रहेछ त्यस कारण आउन सक्नु भएन’ उनले भने ।
मेयर बोगटीसितको सल्लाहमा होटल सञ्चालक बोहराले पत्रकार सम्मेलन गरी चाबी बुझाउने तयारी गरेका हुन् । मेयर बोगटी र सञ्चालक बोहराबीच चाबी बुझाउने सम्बन्धि काठमाडौंमा पत्रकार सम्मेलनका लागि छलफल भएको थियो ।
नेपाल नगरपालिका संघको कार्यक्रमका लागि काठमाडौं गएका मेयर बोगटी दुई दिन अघि मात्रै गृह नगर फर्किएका हुन् । मेयर बोगटीसंगै उप मेयर निलम लेखक जोश पनि पत्रकार सम्मेलनमा अनुपस्थित भएकी छन् ।
मेयर उप मेयर सहभागी नभएर उनीहरुले नगर प्रवक्ता अवस्थी सहित वडा अध्यक्ष भट्टलाई पठाएका हुन् । उनीहरुले भीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटा र ७ का वडा अध्यक्ष गणेश बहादुर चन्दलाई पत्रकार सम्मेलनमा सहभागी गराएका छन् ।
भीमदत्तका मेयर बोगटी र होटल सञ्चालक बोहरा दुबै काँग्रेसका नेता हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा बोहरा बोगटीसंगै मेयरको उम्मेदवारका आकाँक्षी थिए । मेयर बोगटी काँग्रेस कञ्चनपुरको सभापति र बोहरा काँग्रेस महाधिवेशन प्रतिनिधि छन् ।
मेयर बोगटीको निर्देशनमा प्रवक्ता अवस्थी चाबी बुझ्न होटेल ओपेरा गएका हुन् । काँग्रेसको प्रदेश निर्वाचन क्षेत्र ३(क) का उनी संंयोजक छन् ।
होटल सञ्चालक बोहराले मेयर बोगटीका प्रतिनिधिलाई आफ्नो होटलमा बोलाई चाबी बुझाएर आफ्नो व्यवसायिक शक्ति देखाएका छन् । शिवशक्ति ग्रुफका सञ्चालक बोहरा होटलसंगै पेट्रोलियम, हाइड्रोपावर, ढुवानी, यातायात लगायतका व्यवसायमा संलग्न छन् ।
भीमदत्त नगरपालिकाले तत्कालिन महेन्द्रनगर नगर विकास समितिबाट लिज लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई सोमबारसम्म आफ्नो संरचनाको ताला चाबी बुझाउन समय दिएका थिए ।
सरकारले सरकारी जग्गामा कानुन मिचेर निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएपछि चैत तेस्रो सातादेखि अतिक्रमण हटाउने कार्य थालिएको थियो ।
भीमदत्त नगरपालिकाले जेठ ५ गतेदेखि पहिलो चरणमा नगर विकास समितिको जग्गामा निर्माणाधिन संरचनामा डोजर लगाएपछि दोस्रो चरणमा ताला चाबी बुझाउने सूचना जारी गरेको थियो ।
भीमदत्तले सार्वजनिक सूचना अनुसार होटल ओपेराले नगरपालिका कार्यालय गएर बुझाउनु पर्ने ताला चाबीलाई होटेलमा बोलाएर बुझाएको हो । ओपेरा बाहेक अन्यले भने नगरपालिका कार्यालय गएर ताला चाबी बुझाएका छन् ।
ओपेराले चाबी हस्तान्तरणका लागि माथ्लिो तलाको शुक्लाफाँटा हलमा पत्रकार सम्मेलन राखेको थियो । आइतबार विहान ९ बजे पत्रकार सम्मेलन आयोजना गरिने भनेर पत्रकारहरुलाई आमन्त्रण गरिएको थियो ।
पत्रकार सम्मेलनमा बोहराले नगरपालिकाले पछि गर्ने निर्णय मान्य हुने गरी ताला चाबी बुझाएको बताए । चार तारे होटेल बनाउन आफूले राजनीतिक दल, स्थानीय प्रशासन, प्रहरी सबैको सहयोगमा नगर विकास समितिबाट स्विमिङ्ग पुलका लागि जग्गा लिजमा लिएको बोहराको भनाई थियो ।
‘यो हामीले राति चोरेर, चुनावका बेला बनाएका होइन’ उनले भने,‘हामी भोलि हुने निर्णय समेत मान्य हुने गरी अहिले अहिले चाबी बुझाएका छौ, भोलि तोड्नै पर्छ भने पनि हाम्रो आपत्ति हुने छैन ।’
होटेल ओपेराले २०७० मा तत्कालिन महेन्द्रनगर विकास समितिबाट स्विमिङ्ग पुलका लागि तीन कट्टा जग्गा लिजमा लिएको हो । ओपेराले १५ वर्षका लागि लिजमा लिएपछि २ करोड लगानी गरी स्विमिङ्ग पुल बनाएको छ ।
ओपेरालाई चार तारे होटेल बनाउन स्विमिङ्ग पुल बनाउनु पर्ने भएकाले नगर विकास समितिबाट लिजमा जग्गा लिएको सञ्चालक बोहराले बताए । उनले अहिले पनि नगर विकास समितिले स्विमिङ्ग पुलको जग्गा बेच्न चाहे किन्न तयार भएको तर विवादमा नपर्ने धारणा राखेका छन् ।
‘नविसले बिक्री गर्न तयार छ, हामी किन्न तयार छौ भनेर यस अघि २०७५ मा गरिएको पत्रकार सम्मेलनमा पनि भनेका थियौ, अहिले पनि नविसले आफ्नो मूल्य राखेर जग्गा बेच्न चाहन्छ भने किन्न तयार छौ, तर यसको विवादमा पर्न चाहदैनौ ।’
२०७४ मा ओपेराले स्विमिङ्ग पुल बनाएको हो । तत्कालिन महेन्द्रनगर नगर विकास समितिले २०५१ ओपेरा होटल सञ्चालनका लागि ८ कट्टा जग्गा दिएको थियो । त्यसपछि २०६४ मा होटेल ओपेरा सञ्चालनमा आएको हो ।
भीमदत्तका नगर प्रवक्ता अवस्थीले नगर विकास समितिको निर्णय अनुसार सोमबार ताला चाबी बुझाउने सबै संरचना सम्बन्धि राजनीतिक दल र सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्यहरुसित छलफल गरी निर्णय लिइने नगर प्रवक्ता अवस्थीले बताए ।
‘आज ताला चाबी बुझाउने सबै सबै संरचनाको हकमा राजनीतिक दल र प्रदेश सभाका माननीयज्यूसंग बसेर निर्णय लिन्छौ’ उनले भने,‘आज नबुझाउनेको संरचनामा भोलि १५ गतेदेखि डोजर लगाउँछौ, त्यो भोलि नै सोध्नु होला ।’
भीनपा ४ का वडा अध्यक्ष भट्टले अवैध रुपमा जग्गा कब्जा गरी निर्माणाधिन गरिएका संरचना जेठ ५ गतेदेखि हटाउन थालिएको र त्यससंगै सार्वजनिक सूचना जारी गरिएको बताए ।
होटेल ओपेरा सहितका तत्कालिन महेन्द्रनगर विकास समितिबाट लिजमा जग्गा लिएका व्यवसायीले २०७४ मा सर्वोच्च अदालतमा रिटा दायर गरेका थिए । सर्वोच्चले तत्काल अन्तरिक आदेश दिए पनि दुई महिना अघि रिट खारेज गरि दिएको थियो ।
सर्वोच्चले रिट खारेज गरेपछि फैसलाको पूर्णपाठ अझै आएको छैन । भीमदत्त नगरपालिकाले फैसलाको पूर्णपाठ नआउँदै ती संरचनाका ताला चाबी लिएको हो ।