
कमिसनका लागि जे पनि हुन सक्छ भीमदत्तमा, प्रतिस्पर्धा प्रक्रिया रद्द, कार्यपालिका सदस्यलाई नै कोटेशन दिने तयारी
महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयले दलित, विपन्न, आदिवासी जनजाति समुदायका महिलाहरुका लागि सार्वजनिक सूचना गरी अघि बढाएको झोला बुनाई सम्बन्धि तालिम सञ्चालनको प्रक्रिया रद्द भएको छ ।
वडा कार्यालयले दुई महिना अघि सार्वजनिक सूचना आव्हान गरी झोला बुनाई तालिम सञ्चालनका लागि लागि चार ओटा प्रस्ताव माग गरी छनौटका लागि नगरपालिका कार्यालय पठाएको थियो । नगर पालिका कार्यालयले वडा कार्यालयको सूचना अनुसार प्रस्ताव गरिएका चार प्रस्तावमध्ये तीन ओटा कानुन सम्मत नभएपछि तत्कालन छनौट प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो ।
भीमदत्तको मूल्याङ्कन समितिले केही दिन अघि तीन प्रस्ताव सार्वजनिक खरिद ऐन अनुसार उपयुक्त नभएकाले संस्था छनौट प्रक्रिया अघि बढाउन नसकिने निर्णय गरेको समितिका सदस्यहरुले बताए ।
मूल्याकङ्गन समितिको निर्णयपछि तालिम सञ्चालन गर्ने सम्बन्धि अन्य प्रक्रिया औपचारिक रुपमा अघि बढेका छैनन् । नगरपालिका स्रोतका अनुसार भीमदत्तका एक कार्य पालिका सदस्यसित सोझै खरिद अन्र्तगत योजना सम्झौता गरी तालिम सञ्चालन गर्ने छलफल गरिएको छ । भीमदत्तका उप मेयर निलम लेखक जोशीले केही दिन अघि आफ्नै कार्यकक्षमा झोलाु बनाई तालिम सञ्चालन गर्न लागेको जनकारी दिएकी थिइन् ।
उप मेयर जोशीले दलित समुदायको कोटाका कार्य पालिका सदस्यले तालिम सञ्चालन गर्न लागिएको बताएकी थिइन् ।
वडा कार्यालयले चार लाखको झोला बुनाई तालिमका लागि सार्वजनिक सूचना आव्हान गरेपछि वडाका जनप्रतिनिधि वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटा विरुद्ध नगरपालिका डेलिगेशन लिएर आएका थिए ।
वडा कार्यालयले सार्वजनिक सूचना अनुसार प्रस्तावदाताको नामावली संकलन गरी छनौटका लागि चैत अन्तिम साता नगरपालिका कार्यालय पठाएको थियो ।
तालिम सञ्चालनका ढिलो गरिएको भन्दै केही दिन अघि वडा अध्यक्ष देवकोटा र सचिव दिनेश भट्टले वडा कार्यालयमा आएर प्रमुख प्रशासकीय अधिकृत सहितलाई भेटेका थिए ।
त्यस क्रममा उप मेयर जोशी र वडा अध्यक्ष देवकोटामा फोनमा भनाभन भएको थियो । उप मेयर जोशीले आफूलाई राजनीतिक दुर्घटना गराउने धम्की दिएको वडा अध्यक्ष देवकोटाले फेसबुकबाट सार्वजनिक गरेका थिए ।
भीमदत्तमा २० प्रतिशतसम्म कमिशन लिएर सोझै खरिद (कोटेशन ) दिने गरिएको गुनासाहरु सुनिएका छन् । भीमदत्तमा मेयरको सचिवालयलाई कोटेशन वितरणको जिम्मा दिइएको छ ।
