प्रचण्ड गर्मीमा घर टहरा भत्काएर बिचल्ली नपार्न आग्रह गर्दै भीमदत्त पुगे वादी समुदाय, भने– बिचल्ली पार्न छ भने देश निकाला गरि दिनोस, मोदी सरकारले केही व्यवस्था त गर्ला
महेन्द्रनगर । वादी समुदायका अगुवा वसन्ती वादीले मंगलबार दिउँसो भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीलाई भेटेर अत्यधिक गर्मीमा घर टहरा भत्काएर आफूहरुको बिचल्ली नपार्न पटक पटक अनुरोध गरिन् ।
‘कहाँ जाने भन्ने उपाय नभएर त्यहाँ बसेका हौ, अहिले हामीहरु बसेको २८÷२९ वर्ष भयो’ उनले प्रवक्तालाई सुनाइन्,‘हट्न भन्दै हुनु हुन्छ, अब हामी यो यस्तो गर्मीमा बालबच्चा लिएर कहाँ जाऔ, हाम्रो नाममा कही पनि जग्गा छ भने हेर्न, त्यहाँबाट कहाँ जाऔ, हामीलाई बताई दिनुहोस ।’
नगर प्रवक्ता अवस्थीसित वसन्तीले गुनासो पाख्न अघि वादी समुदायका अर्का अगुवा शिवीराज रानाले उनलाई वादी समुदायलाई विकल्प दिएर वस्ती खाली गर्न आग्रह गरेका थिए । उनले आफूहरुलाई बस्नका लागि विकल्प दिनु पर्ने माग राखे ।
होटेल ओपेरा निर्माण नहुँद सब्जीमण्डी पछाडि बसेका वादी समुदायका वासिन्दालाई हटाउन सूचना जारी भएपछि उनीहरु विकल्प माग्दै नगरपालिका पुगेका छन् । उनीहरुले आफूहरु भूमिहिन भएकाले बस्ती छाडेर अन्यत्र जान नसक्ने अवस्था बताए ।
भीमदत्त नगरपालिकाले नगर विकास समितिको जग्गामा अनाधिकृत रुपमा निर्माण गरिएका संरचना भत्काउन थालेपछि वादी समुदायललाई पनि वस्ती खाली सूचना जारी गरेको छ । नगरपालिकाले वस्तीमा सूचना जारी गरेपछि सबै वासिन्दा त्रासमा परेको वसन्ती बादीले बताइन् ।
होटेल ओपेरा नजिकको वस्तीमा ३० घर धुरी वादी समुदायका वासिन्दा घर टहरा बनाएर बस्दै आएका छन् । उनीहरु ओपेरा होटेल निर्माण नहुँदा त्यहाँ बसेका हुन् । ओपेरा होटेल निर्माणका क्रममा बचेका इटा, जस्तापातका टुक्रा लगेर उनीहरु बास बस्न टहरा बनाएको बसन्तीले बताइन् ।
‘अहिले मेरो छोरा २७ वर्षको भयो, ओपेरा बन्नु अघि देखि नै यहाँ बसेका छौ’ उनले भनिन्,‘अब हामी कहाँ जाने, कही पनि ठाउँ छैन ।’
जग्गा जमिन र थातबास नभएपछि मजदुरी गरी जीविका पाल्न आफहरु त्यहाँ बसेको उनी बताउँछिन् । नगरपालिकाले वस्ती छाड्न सूचना लगाएपछि आफूहरुले डेरा खोजे पनि जातीय विभेदका कारण पाउन नसकेको उनले बताइन् ।
तीन दिनदेखि डेरा खोज्दा पनि जातपातका आधारमा भाडामा डेरा पनि पाउन सक्ने अवस्था नभएको उनको भनाई छ । उनले ऐठपुुर, सब्जमीण्डी लगायतका क्षेत्रमा डेराका लागि पुगेकी छन् ।
भीमदत्त नगरपालिका ६ ऐंठपुरमा तीन दिन अघि घरधनीले जात सोधेपछि डेरा दिन अस्वीकार गरेको उनले बताइन् ।
‘पहिला कोठा देखाएर सबै ठिकठाक छ भन्यो, भाडाको कुरा भयो, त्यसपछि त्यहाँ फर्किएर केही यता मात्रै पुगेकी थिइ,’ वसन्ती वादीले भनिन्,‘ फेरि बोलाएर जात सोध्यो, मैले वादी भने, त्यसपछि हाम्रो घरमा बुढापाखा छन्, मान्दैनन्, देउता पनि रिसाउँछन् भनेर कोठा दिन सकिदैन भनियो ।’
ऐठपुरपछि सब्जीमण्डीमा तीन हजार भाडा तिरेर बस्न खोज्दा पनि नपाएको पीडा उनले पोखिन । ‘मण्डीमा पहिला सात सय रुपैँयामा कोठा पाइन्थ्यो, अहिले तीन हजार दिन्छौ भन्दा पनि दिँदैनन्’ उनले भनिन् ।
भीमदत्त नगरपालिकाले सोमबार डोजर वस्ती अगाडिका घर टहरा भत्काएपछि बस्तीमा अन्धकार छाएको छ । उनीहरुले टहरा अगाडिका घरधनीलाई पैसा तिरी वस्तीमा बिजुली बत्ती बालेका थिए ।
‘हामीले अगाडिका घरबाट बत्ती लगेर बाल्ने गरेका थियौ, हिजो ती घर भत्काएपछि बत्ती पंखा सबै बन्द भएका छन्’ उनले भनिन्,‘हिजो अस्तिदेखि त त्रास नै मच्चिएको छ ।’
वादी समुदायका वासिन्दाहरु जनप्रतिनिधि र राजनीतिक दलहरुसित असन्तुष्ट छन् । चुनावमा हात जोडेर आएका नेताहरुले अहिले चिन्न छाडेको उनीहरु बताउँछन् । भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल कुमार भट्टसित उनीहरु सबै बढी गुनासो पोखेका छन् ।
‘चुनावका बेला वडा अध्यक्ष वस्तीमा आउनु भयो, चामल दिनु, रासन दिनु भयो, अहिले त वहाँ हामीलाई नचिने जस्तो गर्नु हुन्छ’ वसन्ती वादीले भनिन्,‘हाम्रो भोट चोखो भयो, चल्यो, काम चल्छ, तर हामी अहिले वडा अध्यक्षज्यूलाई नचल्ने भएका छौ ।’
भीमदत्तका प्रवक्ता अवस्थीसित उनले मण्डीको अलपत्र पशु बधशालामा पनि राखेर व्यवस्थापन गरि दिनु पर्ने आग्रह गरिन् । उनले भाडामा भवन खोजि दिए पनि आफूहरु भाडा तिरेर बस्न तयार भएको बताइन् । ‘सरकारी भवन छ भने पनि हामी त्यहाँ बस्न तयार छौ, खोजी दिनु होला’ उनले भनिन् ।
विकल्प नदिई आफूहरुलाई वस्तीबाट नहटाउन भने उनले नगर प्रवक्ता अवस्थीलाई पटक पटक आग्रह गरिन् । ‘अब यसै हटाउनु हुन्छ, देश निकाला गरि दिनु, हामी जान्छौ, मोदी सरकारले केही व्यवस्था त गरि देला’ उनले भनिन् ।
महेन्द्रनगर बजारका होटेलहरुमा पनि जातीय विभेदका कारण काम पाउन नसकिएको वादी समुदायका अगुवाहरु बताउँछन् ।
वादी समुदायका अगुवा शिवीराज रानाले जातीय विभेद तथा छुवाछुतका कारण वादी समुदायले डेरा पाउन सक्ने अवस्था नभएकाले विकल्प विना वस्तीबाट हटाउनु नहुने बताए ।
‘विकल्प विना वहाँहरुलाई हटाउनु भनेको यो गर्मीमा सडकमा पुगाउनु हो, यो राज्यका लागि राम्रो हुँदैन, गरीको व्यवस्थापन गर्ने काम राज्यको नै हो’ उनले भने ।
भीमदत्तका नगर प्रवक्ता अवस्थीले भने अनाधिकृत संरचना खाली गर्ने अभियान सञ्चालन गएिरकाले घर टहरा हटाएर जमिन खाली गरिनु पर्ने बताए ।
‘वस्ती खाली गरी जानु होस, हामीले विकल्प दिन सक्दैनौ’ उनले भने,‘चौथो चरणमा भूमिहिन सुकुम्बासीको समस्यामा छलफल गर्दा तपाईहरुको समस्यामा पनि छलफल गरुला, त्यति बेला वस्ती खाली गरि दिनु होस ।’