मुटु र मृगौला समस्याबाट पीडित दोधारा चाँदनीका ३० वर्षिय सुरज पुजाराको उपचारका लागि वडा सदस्यले थालिन आर्थिक सहयोग संकलन अभियान
महेन्द्रनगर । कैलालीको धनगढीसित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका दोधारा चाँदनी नगरपालिका २ का सुरज पुजाराको उपचार खर्चका लागि आर्थिक सहयोग संकलन अभियान सुरु भएको छ ।
दोधारा चाँदनी नगरपालिका २ का वडा सदस्य मनकला खनाल पुजाराले आर्थिक सहयोग संंकलन अभियान सुरु गरेकी छन् । सुरज वडा सदस्य पुजाराका भतिज हुन् । वडा सदस्य खनालले आर्थिक सहयोग जुटाएर पुजारालाई तीन दिन अघि सेती अस्पताल भर्ना गराएकी हुन् ।
३० वर्षिय पुजारालाई अस्पताल भर्ना गरी फर्केपछि उनले दोधारा चाँदनी नगरपालिका, वडा कार्यालय, आफन्त सहित सरकारी तथा गैर सरकारी संस्थासित सुरजको ज्यान जोगाउन सहयोग मागेकी छन् ।
‘सुरजको परिवारको अवस्थाका एकदमै नाजुक छ, उपचार गर्न सक्ने पैसा छैन, त्यस कारण सबैसित सहयोग मागि रहेकी छु, सुरजको ज्यान जोगाउन सबैसित हार गुहारमा छु’ उनले भनिन्,‘सबैबाट सहयोग पाएकी छु, सबैको साथ सहयोगले सुरजको ध्यान जोगिने आशा लिएकी छु ।’
मृगौला र मुटु सम्बन्धि समस्याबाट पीडित सुरजलाई घर परिवारले उपचार खर्च नभएर अस्पताल लैजान नसकेर एक वर्षदेखि घरमा राखेका थिए ।
अहिले विरामले ज्यान जाने अवस्था आएपछि घर परिवारले आफन्तलाई जानकारी गराएपछि अस्पताल भर्ना गरिएको हो । त्यसपछि वडा सदस्य पुजाराले आफन्तबाट सहयोग मागेर तत्काल महाकाली प्रादेशिक अस्पताल ल्याएर समान्य उपचार गरी धनगढी लगेकी हुन् । धनगढीमा भर्ना गरिएपछि अहिले सुरजका बुवालाई कुरुवा छाडेर उनी सहयोग जुटाउन फर्र्किएकी हुन् ।
‘महाकाली प्रादेशिक अस्पतालबाट धनगढी लगे, त्यहाँ भर्ना गरेपछि २७ हजार मूल्य पर्ने एकै सुई लगाउनु पर्ने भयो, आफन्तहरुबाट मागेको सहयोग रकम त्यहीं दिन सकियो, त्यसपछि म फर्केर सहयोग संकलन अभियान चलाई रहेकी छु’ उनले भनिन्,‘सुरजको जसरी पनि ज्यान बचोस भन्ने मेरो रात दिनको प्रार्थना यहीं छ ।’
सुरजको परिवार चार वर्ष अघि बैतडीको मेलौलीबट दोधारा चाँदनी आएको हो । मजदुरी गरी जीविका चलाउने उनको परिवार स्थानीय एक जनाले दिएको घरमा बस्दै आएका छन् । सुरजका पाँच भाई बहिनी छन् । उनका अर्काको भाईको केही महिनादेखि मृत्यु भएको थियो ।
महाकाली नदीमा डुबेर ती भाईको मृत्यु भएपछि सुरजरलाई उपचारका लागि अस्पताल लैजान समस्या आएको हो । विद्यालय बाहेकको समयमा मजदुरी गरी कमाएको पैसाले उनी सुरजको उपचार खर्च व्यहोर्दै आएका थिए । उनको मृत्युपछि सुरज अस्पताल जान नपाएर घरमा थला परेका हुन् ।
वडा सदस्य पुजाराले पनि घर परिवारको कमजोर अवस्थाले सुरजलाई उपचारका लागि अस्पताल लैजान सक्ने अवस्था नभएको बताइन् ।
‘साँझ विहानको छाक टार्ने बाटो नै मजदुरी हो, भाडामा अलिकति जमिन पनि लिएर खेती तरकारी लगाउनु हुन्छ, त्यो बाहेक अन्य आम्दानीका कुनै उपाय छैनन्’ उनले भनिन्,‘यो अवस्थामा सबैलाई सहयोग गरी सुरजको ज्यान जोगाउन सबैसित अपील गर्छुु ।’
बुधबार वडा सदस्य पुजाराले दोधारा चाँदनी नगरपालिका ५ का वडा अध्यक्ष केशव बहादुर खत्रीसित सहयोग मागेकी छन् । वडा कार्यालयमा उनले खत्रीलाई वडा कार्यालयबाट हुने सहयोग र आर्थिक सहयोग संकलन अभियानबारे छलफल गरेकी छन् ।
वडा अध्यक्ष खत्रीले स्थानीय तह निर्वाचन जितेपछि आर्थिक रुपमा विपन्न, उपचार खर्च जुटाउन नसक्ने, गरीब असहायलाई सहयोग गर्दै आएका छन् । उनले पुजारालाई पनि उपचारका लागि सहयोग गरिने बताए ।