ghar sansar

एकातिर सरकारी अतिक्रमण हटाइदै, अर्कोतिर ठेक्का लगाएर अतिक्रमण गरिँदै

dirghayu ad

महेन्द्रनगर । स्थानीय सरकारले सरकारी जग्गा अनाधिकृत अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान थाले पनि कटानस्थित महाकाली सिँचाईको जग्गामा ठेक्का खोलेर धमाधम संरचना निर्माण गरिएका छन् ।

महाकाली सिँचाईको नहरमा गौरादेबी मन्दिरका लागि संघ सरकारको बजेटमा धमाधम संरचना निर्माण गरिएका हुन् । महाकाली सिँचाई व्यवस्थापन कार्यालयले दुई महिना अघि संरचना निर्माणको कार्य रोक्न निर्देशन दिए पनि त्यस विपरित निर्माण कार्यलाई निरन्तरता दिइएको हो ।

ratnam malkhad

भीमदत्त नगरपालिकामा क्षेत्रमा सरकारी जग्गा अतिक्रमण हटाउने अभियान अघि बढाएको भीमदत्त नगरपालिकाले अतिक्रमणमा चुप बसेको छ । नगरपालिकाको मापदण्ड मिचेर संरचना बनाउँदा समेत चुप बसेपछि मिलेमतोमा संरचना निर्माण गरिएको आशंका गर्न थालिएको छ ।

महाकाली सिँचाई जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिका अध्यक्ष गंगादत्त भट्टले सिँचाईको जग्गाधनी पूर्जा भएको जमिन खुलेआम अतिक्रमण गरी गौरा देबी मन्दिरका संरचना निर्माण गरिएको बताए ।

‘यो जग्गाको पूर्जा सिँचाईको नाममा छ, हाम्रो पूर्जा भएको जग्गामा ठेक्का लगाएर अतिक्रमण गरी संरचना बनाइएका छन्, यसबारे हामीलाई कुनै जानकारी दिइएको छैन’ उनले भने,‘ती सबै निर्माणाधिन संरचना भत्काउन हामीले सिँचाई व्यवस्थापन कार्यालय र प्रशासन कार्यालयलाई माग गरेका छौ ।’

जल उपभोक्ता संघले सिँचाई व्यवस्थापन कार्यालयलाई पत्र पठाएर निर्माणाधिन संरचनाको कार्य रोक्न माग गरेको छ । कार्यालयले निर्माण रोक्नका लागि प्रशासन कार्यालयमा पत्र पठाएको जानकारी दिएको अध्यक्ष भट्टले बताए ।

भीनपा १८ स्थित महेन्द्रनगर माध्यमिक विद्यालय साधारण नजिक जमिन सिँचाई नहरको हो । ब्लक बी अन्र्तगत पर्ने यो जमिनमा कब्जा गरी गौरादेबी मन्दिर निर्माण गरिएको थियो । अहिले त्यस क्षेत्रमा ठेक्का लगाएर संरचना निर्माण गरिएका छन् ।

महाकाली सिँचाई जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिका अध्यक्ष भट्टले अतिक्रमित गरिएका संरचना कुनै पनि हालतमा हटाउनु पर्ने बताए । उनले ती संरचना हटाउन अदालतसम्म जाने छलफल गरिएको बताए ।

‘हाम्रो जग्गामा बनेका यी संरचना कुनै पनि हालतमा हटाउँछौ, त्यसका लागि अदालतसम्म जाने छलफल अघि बढाएका छौ’ उनले भने,‘गौरादेबी मन्दिर समिति, ठेकदार र ठेक्का लगाउने कार्यालय विरुद्ध अदालत जान्छौ ।’

सिँचाईको जग्गामा बसेका सुकुम्बासी परिवारले पनि गौरादेबी मन्दिर क्षेत्रमा संरचना बनाउन दिएर आफूहरुलाई हटाउन अन्याय हुने तर्क राखेको अध्यक्ष भट्टले बताए । सुकुम्बासी वस्ती खाली गर्नका लागि केही दिन अघि संघको टोली वस्तीमा पुगेको थियो ।

सहरी विकास मन्त्रालय मातहतको संघीय योजना कार्यान्वयन इकाई धनगढीले ठेक्का लगाएर श्री गौरादेबी साँस्कृृतिक सेवा समितिका लागि संरचना बनाएको हो । त्यसका लागि ६४ लाख ६५ हजारमा दम्केश्वर निर्माण सेवालाई ठेक्कामा दिएको छ ।

ठेक्का सम्झौता अनुसार हल, मण्डप र शौचालाय लगायतका संरचना बनाउन थालिएको हो । कार्यालयले यी संरचनाका लागि झण्डै एक करोडमा ठेक्का आव्हान गरेको थियो ।

संघीय योजना कार्यान्वयन इकाई धनगढीका प्राविधिकहरुले संरचना निर्माण भई रहेको जमिनको स्वामित्वबारे आफूहरुलाईक केही पनि थाहा नभएको जानकारी दिएका छन् ।

‘ठेक्का खोलेर सम्झौता गरी काम सुरु भएको छ, कसको जमिन हो, नक्सा पास भएको छ छैन, त्यो जानकारी छैन’ कार्यालयका साइड हेर्ने प्राविधिक तिलक बिकले भने, ,‘यसमा ट्रस्ट टाइपको संरचना बन्न लागेको हो ।’

भीमदत्त नगरपालिकाले जमिनका लागि कार्यालयमा सिफारिश गरेपछि मात्रै काम सुरु गरिएको कार्यालयका कर्मचारीहरुले बताए ।

महाकाली सिँचाई व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख रामकृष्ण घोरासैनीले भने गौरादेबी मन्दिर क्षेत्रमा कुनै पनि खालका संरचना बनाउन कसैलाई पनि अनुमति नदिएको बताए । ‘त्यहाँ हाम्रो जमिनमा कसैलाई पनि संरचना बनाउने अनुमति दिएका छैनौ, कसैले पनि हामीसित संरचना बनाउन समन्वय गरेको छैन ।’

कञ्चनपुरका तत्कालिन प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले सरकारी जग्गा अतिक्रमण गरी कुनै पनि संरचना बनाउन नपाइने र बनाइएको पाइएमा कानुनी दायरमा ल्याइने बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...