महेन्द्रनगर । नेकपा एमाले भीमदत्त नगर कमिटीले बाढी र डुबानबाट पीडित वासिन्दाको तथ्याङ्क संकलन गरी राहत उपलब्ध गराउन सरकारसित माग गरेको छ ।
एमाले भीमदत्त नगर कमिटीका अधयक्ष हिमाल चन्दले मंगलबार विज्ञप्ति सार्वजनिक गरी भीमदत्तका सबै वडामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित वासिन्दालाई राहत उपलब्ध गराउन माग गरेका छन् ।
एमालेले विपद्को क्षति रोक्न स्थानीय सरकार र सरकारी निकाय अक्षम रहेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । स्थानीय सरकार र सरकारी निकायले विपद् सूचना प्रणाली प्रभावकारी बनाउन नसक्नु, खोज तथा उद्धारमा दक्षता हासिल गर्न नसक्नु र सुरक्षित आवाशको व्यवस्था गर्न नसक्दा विपद्बाट अनपेक्षित क्षति व्यहोर्ने अवस्था आएको एमाले नगर कमिटीले सार्वजनिक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एमालेले स्थानीय तहलाई विपद् प्रतिकार्य योजना बनाएर लागू गर्ने कानुनी अधिकार भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेकोमा आपत्ति जनाएको छ । नगर अध्यक्ष चन्दले बाढी तथा डुबानबाट पीडित वासिन्दाको खोज तथा उद्धार र राहत वितरण कार्यक्रममा सक्रिय रुपमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।