
महेन्द्रनगर । कैलालीको लम्कीचुहा नगरपालिकामा अचेत अवस्थामा भेटिएका दुई पुरुषको मृत्यु भएको छ। छुट्टाछुट्टै स्थानमा अचेत फेला परेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुईमध्ये लम्कीचुहा नगरपालिका–५ का अन्दाजी ५१ वर्षीय सागर विक रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
अर्का एकजनाको भने सनाखत हुन सकेको छैन। विक मंगलबार बाटोमा अचेत अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा लग्दा चिकित्सकले मृत घोषणा गरेको हो ।
यसैगरी अन्दाजी ५५ वर्षका पुरुष लम्कीचुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहर नजिकै अचेत फेला परेका थिए । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उद्धार गरेर उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको हो ।
दुवै पुरुषको मृत्युको विषायमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
