ghar sansar

रेकर्ड वर्षाको अध्ययन गर्न मौषमविद्को टोली कञ्चनपुर आउँदै

काठमाडौं । कञ्चनपुरमा असार २३ र २४ गते भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्न जल तथा मौसम विज्ञान विभागको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेल नेतृत्वको टोली स्थलगत अध्ययनका लागि आज बिहान कञ्चनपुर प्रस्थान गरेको हो ।जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले विभागको विज्ञसहितको टोली आज कञ्चनपुर प्रस्थान गरेको जानकारी दिए ।

महानिर्देशक कर्माचार्यका अनुसार टोलीले वर्षा मापन केन्द्र र त्यहाँ राखिएका उपकरण ठीक अवस्थामा भए÷नभएको जाँच गर्ने छ । साथै स्थानीयसँग सो दिनको वर्षाको अवस्थाबारे पनि कुराकानी गर्ने छ ।

कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुर केन्द्रमा असार २३ र २४ गतेको दर्के झरीले नेपालमा हालसम्म भएको वर्षाको सबै रेकर्ड तोडेको थियो । दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा चौबीस घण्टाको अवधिमा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । यो नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै वर्षाको रेकर्ड हो ।

दोधारामा यसअघि वर्षा मापन केन्द्र थिएन । दोधारामा २०८० फागुन १२ गतेमात्र स्वचालित वर्षामापन केन्द्र स्थापना गरिएको थियो । अघिल्ला वर्ष त्यहाँ कति वर्षा हुन्थ्यो भन्ने थाहा छैन । त्यसैले अहिलेकै वर्षालाई मौसमविद्हरुले ‘रेकर्ड ब्रेकिङ’ मानेका हुन् ।

असार २३–२४ गतेको २४ घण्टा अवधिमै कञ्चनपुरका हनुमाननगर र सुन्दरपुर स्टेसनमा पनि अति भारी वर्षा रेकर्ड भएको थियो । हनुमाननगरमा ५७३.६ र सुन्दरपुरमा ५५६.४ मिलिमिटर वर्षा मापन भएको थियो ।

विभागका मौसमविदहरुले प्रारम्भिक विश्लेषणबाट कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’ (आरी घोप्टे वर्षा) जस्तो देखिएको बताएका छन् । यद्यपि विभागले ‘क्लाउड ब्रस्ट’ भएको भनिसकेको छैन ।

कहिलेकाहीँ उपकरण बिग्रिएमा तथ्यांक गलत हुने भएकाले विभागकी वरिष्ठ मौसमविद एवम् उपकरण क्यालिब्रेसन तथा व्यवस्थापन शाखा प्रमुख डा. कँडेल नेतृत्वको टोली स्थलगत अध्ययनमा गएको हो ।

‘हाम्रो टोलीले उपकरणमा केही कमीकमजोरी पो छ कि, कसैले बदमासीपूर्ण हिसाबले उपकरणमा पानी पो हाल्दियो कि भनेर अध्ययन गर्छ’ महानिर्देशक डा. कर्माचार्यले भने, ‘यद्यपि बदमासी भएको जस्तो खासै देखिँदैन । हामीकहाँ आउने १०–१० मिनेटको डेटा हेर्दाखेरि र वरपरका म्यानुअल स्टेसनका डेटासमेत हेर्दा प्राप्त तथ्यांक सही जस्तो देखिन्छ ।’

अध्ययन टोलीको रिपोर्टबाट वास्तविकता पत्ता लाग्ने र विभागले निष्कर्ष सार्वजनिक गर्ने उनले जानकारी दिए । ‘करिब हप्ता–दश दिनभित्रै निष्कर्ष सार्वजनिक गर्न सकिन्छ होला,’ उनले भने ।

विभागका महानिर्देशक डा. कर्माचार्यका अनुसार टोलीले कञ्चनपुरका पालिकाहरुमा यसै वर्षदेखि सुरु गरेको प्रभावमा आधारित पूर्वानुमानको प्रभावकारितासमेत अध्ययन गर्ने छ ।

साभार : अनलाइन खबर

Himal dental
सम्बन्धित
Loading...