

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको छ । पछिल्लो एक दशकयता वर्षातमा आउने बाढीले वर्षेनी ठूलो धनजनको क्षति गर्ने गरेको छ । त्यस्तो क्षतिलाई न्यूनीकरण गर्नका लागि कञ्चनपुरको पुनर्वासमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको छ ।
प्राकृतिक विपद्हरूलाई रोकथाम गर्न नसके पनि पूर्वतयारको माध्यमबाट विपद्को असरलाई न्यून गर्न सकिन्छ भन्ने उद्देश्यका साथ विगतको बाढीको अनुभवलाई आत्मसात् गर्दै आगामी दिनहरूमा भैपरि आउने बिपदको समयमा कसरी पूर्व तयारीका कार्यहरू गर्न सकिन्छ भन्ने दिगो व्यवस्थापनका लागि बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको हो ।

मर्सिकोर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) को आयोजना तथा पुनर्वास नगरपालिकाको समन्वयमा आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन परियोजना एमरेड अन्तर्गत पुनर्वास नगरपालिका वडा नम्बर १ भकुण्डमा बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास गरिएको थियो ।
परियोजनाले कञ्चनपुर जिल्लाका पुनर्वास नगरपालिकाका विभिन्न ४ वटा समुदायमा बाढी उत्थानशीलताको क्षेत्रमा कार्य गरिरहेको र सोही कार्यको निरन्तरता दिदै पहिलो पटक पुनर्वासको भकुण्ड नजिकैको दोदा नदीमा बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास कार्यक्रममा एन एन एस डब्लु ए का विपद्को समयमा गरिने गतिविधिको स्थलगत अभ्यासमा सहजीकरण प्रशिक्षक जनक लेखकले गरे ।

नमुना अभ्यासपछि आयोजित समीक्षाका क्रममा नेपाल रेडक्रस सोसाइटी पुनर्वास शाखाका सचिव रूपेश खरेलले समुदायका व्यक्तिहरूले उक्त अभ्यासबाट विपद्को तीन चरणमा गर्नुपर्ने कार्यको बारेमा जानकारी प्राप्त गरेको प्रतिक्रिया दिए ।

पुनर्वास नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहनलाल रानाले विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व अभ्यासले महत्त्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले विपद्को समयमा प्रभावित समुदायको व्यवस्थापनमा सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

बाढीमा आधारित कृत्रिम नमुना अभ्यासका क्रममा आयोजित औपचारिक कार्यक्रममा मर्सिकोर नेपालका विपद् उत्थानशील सल्लाहकार लक्ष्मी अवस्थीले विपद् व्यवस्थापनका क्षेत्रमा समेत क्रियाशील रहेको यस संस्थाले विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम गर्ने गरेको बताइन् ।
पूर्व सूचना प्रवाह, खोज तथा उद्धार र प्राथमिक उपचार लगायतका सन्दर्भमा नमुना अभ्यासबाट धेरै सिकाइ भएको उनको भनाई छ । विगतदेखि निरन्तर सिकाइको क्रम जारी रहँदा सिकेका विषयवस्तुलाई आवश्यक परेको समयमा व्यवहारमा लागु गर्न सक्नुलाई नै उपलब्धिका रूपमा लिन सकिने उनी बताउँछिन् ।

बाढी आउनु पूर्वको मौसमी विवरण, पूर्व सूचना प्रणाली, जनसमुदायले अपनाउनु पर्ने सतर्कता, बाढी आउँदा ध्यान दिनु पर्ने कुरा, प्रभावितहरूको खोज तथा उद्धार, प्राथमिक उपचार, राहत वितरण र पुनर्स्थापन तथा व्यवस्थापन जस्ता गतिविधिहरू नमुना अभ्यासका रूपमा प्रस्तुत गरिएका थिए ।
उक्त कृतिम नमुना अभ्यास कार्यक्रममा पुनर्वास नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन ओम नाथ ढकाल , नेपाल रेडक्रस सोसाइटी शाखा पुनर्वास का सचिव रूपेश खरेल,स्थानीय जनप्रतिनिधिहरू,, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, स्थानीय समुदायका नागरिकहरू, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरू र पत्रकार समेतको उल्लेख्य सहभागितामा बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास गरिएको हो ।


