
महेन्द्रनगर । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि आइतबार प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भएको छ ।
राष्ट्रिय सभामा २०८० असोज १९ मा दर्ता भई पारित भएर आएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव शिक्षामन्त्री विद्या भट्टराईले संसद्मा प्रस्तुत गरेकी थिइन् । विधेयकमा धनगढीमा स्थापित गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रूपमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।
छलफलमा भाग लिँदै सांसद योगेशकुमार भट्टराईले संसदीय समितिले समेत अध्ययन गरेर गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रूपमा अघि बढाउन सरकारलाई सुझाव दिएको स्मरण गर्दै विधेयक छिटो पारित हुनु पर्ने बताए ।
सांसद रघुजी पन्तले विश्वविद्यालय स्थापना भए सुदूरपश्चिमको स्वास्थ्य सेवालाई उन्नत बनाउने बताए । त्यहाँको अर्थतन्त्रमा समेत प्रभाव पार्ने उनको भनाइ थियो । सांसद पन्तले विश्वविद्यालयको मापदण्ड पूरा गरेर मात्र स्थापना गर्नुपर्नेमा जोड दिए ।
उनले प्रधानमन्त्रीलाई कुलपतिको सट्टा संरक्षक राखेर स्वायत्तता बनाउनुपर्ने सुझाव दिए । सांसद राजेन्द्रकुमार केसीले नेपालमा मेडिकल शिक्षाको ठूलो आकर्षण रहेकाले विधेयक छिटो पारित गर्नुपर्नेमा जोड दिए ।
विधेयक पास भएर विश्वविद्यालय स्थापना भए उपचार र अध्ययनका लागि भारत जाने पैसा रोकिने विश्वास उनले व्यक्त गरे । छलफलमा बोल्दै सांसदहरूले छिटोछरितो तरिकाबाट विधेयक पास गरी विश्वविद्यालय स्थापना गर्नुपर्ने बताए ।
विश्वविद्यालय स्थापनाका लागि गेटामा पूर्वाधार निर्माणको काम सकिएको छ भने एक सय बेडको अस्पतालसमेत सञ्चालन हुँदै आएको छ ।
विश्वविद्यालय स्थापनाका अभियन्ता डा. भट्ट भन्छन्– पढाई सुरु गर्न हामी चनाखो हुनु पर्छ
हामी सबैलाई थप एक खुड्किलोको बधाई । नेपालको पहिलो, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक आज प्रतिनिधि सभामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री विद्या भट्टराईद्वारा प्रस्तुत भएको छ । यस विश्वविद्यालयको लागि प्रतिनिधि सभा र विषयगत समितिमा लिखित निवेदन दिएर विषय उठान गर्दै सङ्घर्ष र आन्दोलन गरेर यो अवस्थामा पुर्याएकोमा स्वास्थ्य सुविधा र स्वास्थ्य शिक्षाको जनशक्ति उत्पादनमा पछाडि परेको सुदूरपश्चिमका सबै जनतालाई र संघर्ष समितिलाई बधाई ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दुई पटकसम्म मैले दिएको निवेदनमाथि छलफल र दुबै पटक नै समितिले स्थलगत भ्रमण गरि सरकारलाई विश्वविद्यालय स्थापनाको लागि सुझाव सहितको निर्देशन दिइ सकेको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विश्वविद्यालयको विधेयकमाथि दफावार छलफल गरि पास गरिसकेको छ। आँउदो शैक्षिक सत्रमा मेडिकल शिक्षाका विभिन्न विधामा पढाई शुरु गर्न हामी चनाखो हुनु पर्छ, दवाब आवश्यक देखिन्छ।
