
महेन्द्रनगर । पटके कर खारेजीको माग गर्दै दोधारा चाँदनी नगरपालिकाका अटो व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । अटो व्यवसायीहरुले कर खारेजीका लागि नगरपालिका कार्यालयमा बुझाएको मागपत्रमा सुनुवाई नभएपछि आन्दोलनमा उत्रिएका हुन् । उनीहरु सबैले आफ्ना अटो नगरपालिका कार्यालयमा राखि दिएका छन् ।
नगरपालिका कार्यालयको प्रवेशद्वारदेखि कार्यालय भवनसम्म अटोहरु राखिएका छन् । माग पूरा नभएसम्म कार्यालयमा अटोहरु छाड्ने उनीहरुले बताए ।

अटो व्यवसायी समितिले आइतबार पटके कर खारेजीको माग राखेर दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुलाई माग पत्र बुझाएको थियो । समितिले माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको थियो ।
मेयर लिम्बुलाई बुझाइएको मागपत्रमा समितिका सचिव पदम सुनारको हस्ताक्षर थियो । समितिले माग पत्रमा पटके करले आफूहरुलाई मार्का परेकाले खारेज गर्नु पर्ने माग गरिएको छ ।
अटो व्यवसायीहरु अति विपन्न, समान्य श्रमिक भएको आम्दानीको तुलनामा कर बढी तिर्नु पर्ने अवस्था भएकाले मार्कामा परेको मागपत्रमा उल्लेख गरिएको छ ।
मेयर लिम्बुलाई मागपत्र बुझाउन अघि समितिको बैठकबाट कर खारेजीका लागि स्थानीय सरकारलाई समस्या समाधानका लागि मागपत्र बुझाउने निर्णय गरिएको थियो । माग वेवास्ता गरिएमा चरणबद्ध आन्दोलनमा जाने चेतावानी माग पत्रमा दिइएको हो ।
अटो व्यवसायीहरुले माग अनुसार कर खारेजीका लागि वेवास्ता गरिएर चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । मंगलबार उनीहरु सबैले आफ्नो अटोहरु नगरपालिका कार्यालय लगेर राखेर आन्दोलन थालेका हुन् ।
उनीहरुले मंगलबार विहान मेयर लिम्बुलाई जानकारी गराएर आफ्ना सबै अटोहरु कार्यालयमा राखेका हुन् । अटो व्यवसायी समितिका अध्यक्ष टेकराज गिरीको नेतृत्वमा उनीहरुले मेयर लिम्बुलाई कार्यालयमा अटो राख्ने जानकारी गराएका थिए ।
अध्यक्ष व्यवसायीहरुको मागप्रति वेवास्ता गरिएकाले माग पूरा नभएसम्म अटोहरु नगरपालिका कार्यालयमा राखिने बताए ।
‘हाम्रो ज्ञापन पत्रको वेवास्ता भयो, त्यस कारण अटो व्यवसायीहरुले आफ्ना अटोहरु यस कार्यालयमा जम्मा गरेका छौ, जबसम्म माग पूरा हुँदैन,तब सम्म अटो कार्यालयमा छाड्छौ’ अध्यक्ष गिरीले भने ।
समितिका अध्यक्ष गिरीले कार्यालयमा छाडिएका अटोमा क्षति नगरपालिका जिम्मेवार हुने बताए । ‘त्यहाँ छाडिएका अटोमा टुटफुट वा कुनै क्षति भएमा त्यसको जिम्मेवार नगरपालिका कार्यालय हन्छ’ उनले भने ।
दोधारा चाँदनीका मेयर लिम्बु एमालेबाट निर्वाचित हुन् । २०७४ को स्थानीय तह निर्वाचनपछि पहिलो पटक अटो व्यवसायीले नगरपालिका कार्यालयमा अटो राखेर आन्दोलित भएका हुन् ।
