ghar sansar

सुदूरपश्चिममा बढ्दै डेंगु, विरामीको संख्या २६४ पुग्यो

dirghayu ad
dirghayu clinic

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा डेंगुका विरामीको संख्या २६४ पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा ५६ जना, अछाममा ५५ जना र डोटीमा ५५ जनामा डेंगुका विरामी देखिएका छन् ।

कञ्चनपुरमा ३९ जना, दार्चुलामा २० जना, बाजुरामा १७ जना, बैतडीमा ८ जना, डडेल्धुरामा ९ जना र बझाङमा ५ जना डेंगुका विरामी देखिएको सम्पर्क व्यक्ति जोशीले जानकारी दिए ।

ratnam malkhad

उनका अनुसार जनवरीमा १३ जना, फेब्रअरीमा २४ जना, मार्चमा ३८ जना, अप्रिलमा ३४ जना, मेमा २५ जना, जुनमा ५२ जना, जुलाईमा ५४ जना र अगष्टको हालसम्ममा २४ जना डेंगुका विरामी देखिएका छन् ।

डेंगुबाट हालसम्म सुदूरपश्चिमका कुनै पनि जिल्लामा कसैको मृत्यु भने नभएको उनको भनाइ छ । एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु फैलने गर्छ ।

“जलवायु परिवर्तनको असरले पृथ्वीको तापक्रम बढ्दा तराई क्षेत्रमा मात्रै पाइने लामखुट्टे पहाडी र उच्च हिमाली जिल्लामा पनि पाइन थालेपछि डेंगु लगायतका किटजन्य रोग बढ्न थालेका छन्”, उनले भने, “डेंगु चुनौतीका रुपमा देखा पर्न थालेको छ, पछिल्लो तथ्याङ्कअनुसार असारबाट डेंगुका विरामीको संख्या बढ्दै गएर साउन, भदौ, असोज महिनासम्म उच्च हुने गरेका छन् ।”

क्रमशः चिसो बढ्दै गएपछि डेंगुका विरामीको संख्यामा पनि कमी हुँदै जाने गरेको देखिएको उनले उल्लेख गरे। डेंगुबाट बच्नका लागि पूरा बाहुला भएको लुगा लगाउने, झुलभित्र सुत्ने, घरको झ्याल ढोकामा लामुखुट्टे नछिर्ने जाली लगाउने, घरवरिपरि पानी जम्न नदिने, गमला, प्लेट, फूलदानी, कुलर आदिको पानी हप्तामा एकपटक फेर्नु पर्ने हुन्छ ।

यसैगरी, पानी जम्मा हुने भाँडोलाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ, बिहान करेसाबारीमा जाँदा, घरबाहिर टहलिँदा लामखुट्टेले नटोकोस् भनेर पूरै सावधानी अपनाउनुपर्ने हुन्छ ।

डेंगु सार्ने लामखुट्टेले विशेषगरी दिउँसो बढी सक्रिय भएर टोक्ने भएकाले सावधानी अपनाउनु पर्ने जोशीले बताए । डेंगु लागेमा एक्कासी ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने र वान्ता हुने, दैनिक खानपान वा अन्य काम कुरामा रुची नलाग्ने हुन्छ ।

यी लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा उपचारका लागि जानुपर्छ। डेंगु रोकथामका लागि प्रदेशका विभिन्न जिल्लाका पालिकामा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...