भारतमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या, डाक्टर आन्दोलित

इन्डियन मेडिकल एसोसिएसनद्वारा शनिबार देशभर अत्यावश्यक बाहेकका सेवा बन्द

Amity

महेन्द्रनगर । पश्चिम बंगालको कोलकातामा एक महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा भारतका डाक्टरहरूले देशव्यापी हड्ताल गरेका छन् । भारतीय डाक्टरहरूको सबैभन्दा ठूलो संगठन इन्डियन मेडिकल एसोसिएसन (आईएमए)ले शनिबार देशभरका अस्पतालमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेको हो ।

आईएमएले विज्ञप्ति जारी गर्दै शनिबार बिहान ६ देखि आइतबार बिहान ६ बजेसम्मको २४ घण्टे हडतालका क्रममा पनि अत्यावश्यक र दुर्घटनासम्बन्धी उपचार भने जारी रहने जनाएको छ । कतिपय सरकारी अस्पतालका चिकित्सकहरूले भने आईएमएले हडताल आह्वान गर्नुअघि नै जरुरीबाहेकका शल्यक्रिया नगर्ने बताएका थिए ।

janjyoti campus

कोलकातास्थित एक अस्पतालकी ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकको अघिल्लो शुक्रबार बलात्कारपछि हत्या गरिएको थियो । ती चिकित्सकको शव आरजी कर मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा फेला परेको थियो । अस्पताल स्रोतका अनुसार ती महिला चिकित्सक आफ्नो ड्यूटी सकेर आराम गर्न गएकी थिइन् ।

आईएमएले उक्त घटनालाई ‘महिलाका लागि असुरक्षित ठाउँमा भएको बर्बर अपराध’ भनेको छ । आईएमएले ‘न्यायका लागि गरिएको लडाइँमा’ साथ दिन पनि देशवासीलाई आग्रह गरेको छ । घटनाको विरोधमा कोलकाता, नयाँदिल्ली, हैदराबाद, मुम्बई, पूणे, लखनऊ, अहमदाबाद, गुहावटी, चेन्नई प्रयागराज लगायतका सहरहरूमा पनि विरोध प्रदर्शन गरिएका छन् । तीमध्ये अधिकांश प्रदर्शनको नेतृत्व चिकित्सकहरूले गरेका छन् ।

उनीहरूले ‘हामीलाई न्याय चाहियो’, ‘दोषीलाई कडा कारबाही होस्,’ ‘उपचार गर्ने हात रक्ताम्य हुनुभएन’, लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । ‘यदि हाम्रो दोस्रो घर अस्पतालमा नै यस्तो घटना हुन्छ भने हामी कहाँ सुरक्षित छौं,’ कोकलताको प्रदर्शनमा सहभागी एक मेडिकल विद्यार्थीले सञ्चारमाध्यमसँग भनेकी छिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिनअघि ‘महिलामाथि राक्षसी व्यवहार गर्नेलाई चाँडोभन्दा चाँडो निकै कडा सजाय हुनुपर्ने’ बताएका थिए । ‘हाम्रा आमा, दिदीबहिनी र छोरीहरूमाथि हुने अत्याचारबारे समाजले गम्भीर भएर सोच्नुपर्छ,’ भारतको स्वतन्त्रता दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै मोदीले भनेका थिए, ‘महिलाविरुद्ध हुने अपराधको छिट्टै छानबिन गरी राक्षसी कार्य गर्नेलाई कडाभन्दा कडा सजाय दिनुपर्छ । समाजमा विश्वास जगाउन महत्वपूर्ण छ ।’

महिला चिकित्सकमाथि बलात्कार र हत्या भएको अस्पतालमा शुक्रबार एक भीडले तोडफोड गरेपछि महिलाहरूका लागि बलियो सुरक्षाको माग गर्दै पछिल्ला दिनमा भारतभर प्रदर्शन चर्केको हो । आईएमएले स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि कानुनी सुधार, अस्पतालको सुरक्षा व्यवस्थामा सुदृढीकरण र आरामका लागि सुरक्षित स्थान बनाउनुपर्ने लगायतका माग अघि सारेको छ । प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा भारतको हैदराबादमा शनिबार स्वास्थ्यकर्मीहरूले गरेको प्रदर्शन । 

संगठनले हत्याको सूक्ष्म र व्यावसायिक अनुसन्धान र दोषीउपर कडा कारबाहीको पनि माग गरेको छ । साथै, अस्पतालमा भएको तोडफोडमा संलग्नहरूमाथि कारबाही र पीडित चिकित्सकको परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरिएको छ । संगठनका भारतभर चार लाखभन्दा बढी सदस्य छन् ।

विभिन्न स्थानमा गरिएका प्रदर्शन शान्तिपूर्ण भए पनि एक समूहले महिला चिकित्सकको बलात्कार र हत्या भएको आरजी कर अस्पतालमा तोडफोड गरेको थियो । तोडफोडमा संलग्न भएको आरोपमा हालसम्म कम्तीमा २५ जना पक्राउ परिसकेका छन् ।

घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती व्यक्ति अस्पतालमा स्वयंसेवकको काम गर्न आएका थिए । तर प्रहरीले अनुसन्धानमा ढिलाई गरेको व्यापक गुनासोपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई घटनाबारे विस्तृत अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ । इन्डियन एक्सप्रेसका अनुसार सीबीआईको १२ सदस्यीय विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा भारतको प्रयागराजमा शनिबार स्वास्थ्यकर्मीहरूले गरेको प्रदर्शन ।

बलात्कारपछि हत्या गरिएकी चिकित्सकका आमाबुबाले घटनामा प्रशिक्षार्थी र अन्य चिकित्सक संलग्न रहेको बताएका हिन्दुस्तान टाइम्सले जनाएको छ । उनीहरूले सीबीआईलाई शंकास्पद व्यक्तिहरूको नामसमेत दिएका छन् । सीबीआईले शुक्रबार दुई प्रशिक्षार्थी र एक कर्मचारीसँग सोधपुछ गरेको छ ।

त्यस्तै, सीबीआईले आरजी कर मेडिकल कलेजका पूर्वप्राचार्य डा. सन्दिप घोषसँग शनिबार बिहान पुनः सोधपुछ गरेको छ । त्यसअघि सीबीआईले शुक्रबार उनीसँग १० घण्टा बयान लिएको थियो । घटनाको दुई दिनपछि राजीनामा दिएका घोष कोलकाता नेसनल मेडिकल कलेज एण्ड हस्पिटल (सीएनएमसीए) मा नियुक्त गरिएको थियो । तर कोलकाता उच्च अदालतले उनलाई लामो बिदामा बस्न आदेश दिइसकेको छ । 

महिला चिकित्सकको बलात्कार र हत्यापछि पश्चिम बंगाल राज्यमा राजनीति पनि गरम बनेको छ । त्यहाँका सत्तारूढ र विपक्षी दलका नेताहरूबीच आरोप–प्रत्यारोप सुरू भएको छ । प्रतिपक्षी दल भारतीय जनता पार्टी (भाजपा) ले सरकारको नेतृत्व गरिरहेको तृणमूल कंग्रेस आक्रमणमा जिम्मेवार रहेको आरोप लगाएको छ ।

तृणमूल कंग्रेसले आरोपको खण्डन गर्दै राजनीतिक बाहिरियाहरूले पश्चिम बंगाल राज्यमा हिंसा भड्काएको आरोप लगाएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले शुक्रबार ¥यालीको नेतृत्व गर्दै घटनामा संलग्नलाई मृत्युदण्ड दिनुपर्ने बताएकी छन् ।

महिलाहरूलाई स्वतन्त्र र त्रासरहित वातावरणमा बाँच्न पाउने अधिकारको माग गर्दै दसौं हजार महिलाहरूले बुधबार राति कोलकातामा ‘रिक्लेम द नाइट’ जुलुस निकालेका थिए । सन् १९७० को दशकमा यौन हिंसाविरुद्ध र लैंगिक समानताको पक्षमा लन्डनमा आयोजना गरिएको अभियान ‘रिक्लेम द नाइट’ हो ।

नेसनल क्राइम रेकर्डस् ब्युरो (एनसीआरबी) को तथ्यांकअनुसार भारतमा सन् २०२२ मा ३१ हजार बलात्कारका घटना सार्वजनिक भएका थिए ।

साभार : ई कान्तिपुर

ghar sansar
सम्बन्धित
Loading...