

महेन्द्रनगर । कञ्चनपुरमा चितुवा नभेटिएपछि हात्ती र प्राविधिक फिर्ता भएका छन् । भीमदत्त नगरपालिका–११ भुजेलामा देखिएको चितुवा तीन दिनसम्म फेला नपरेपछि हात्ती र प्राविधिकहरु फिर्ता भएका हुन् ।

‘सुरुको दिन चितुवा देखियो, त्यसपछि दोस्रो दिन देखिएन,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कँडेलले भने, ‘अब चितुवा आफ्नै वासस्थानमा फर्केको अनुमान गरेका छौं।’ त्यहि भएर अब हात्ती र प्राविधिक सबै फिर्ता भएका छन् ।
शनिवार बिहान चितुवा देखिएपछि नियन्त्रणमा लिनका लागि तीनवटा खोर राखिएका थिए। खोरभित्र बाख्राका पाठा पनि राखिएका थिए ।
तर चितुवा खोरभित्र पसेन । सुरुको दिनमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट २ हात्ती परिचालन गरिएका थिए । दोस्रो दिन २ हात्ती थपेर ४ वटा परिचालन गरिएको थियो। तेस्रो दिनसम्म पनि खोजी गर्दा नभेटिएपछि सबै टोली फिर्ता भएको छ।
