

महेन्द्रनगर । कैलालीको धनगढी उपमहानगरपालिकाले संस्कृतमा आचार्य अध्ययन गरेका भीमदत्त नगरपालिका–३ बस्ने कृष्ण दमाईंलाई आज सम्मान गर्दैछ ।

उप महानगरपालिकाले आज (शनिबार) नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी, दाङबाट संस्कृत साहित्यमा दलित समुदायबाट पहिलो ‘आचार्य’ उत्तीर्ण गरेका दमाईंलाई सम्मान गर्ने भएको हो ।

आचार्य दमाईंले सुदूरपश्चिम क्षेत्रको गरिमा बढाउने र यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउने कार्य गरेकोले उनलाई सम्मान गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जानकारी दिए ।
उनका अनुसार आचार्य दमाईंलाई सम्मान गर्नका लागि शनिबार बिहान ८ बजे उपमहानगरपालिकाको सभाहलमा कार्यक्रम राखिएको छ । केही साता अघि काठमाडौँस्थित पशुपति कोटीहोमको व्यासासनमा बसेर प्रवचन दिएपछि दमाईं चर्चामा आएका थिए ।
