

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ बागफाँटामा गौशाला बनाउन थालिएको छ । बाँगफाँटास्थित त्रिवेणी टोलमा त्रिवेणी टोल विपद् व्यवस्थापन समिति र सिद्धबैजनाथ त्रिवेणी धामले स्थानीय सरकार र संघ संस्थाबाट सहयोग जुटाएर त्रिवेणी धाम गौशाला निर्माण सुरु गरिएको छ ।
भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले बिहीबार गौशाला शिलान्यास गरिन् । त्रिवेणी धामको १० कट्टा जग्गामा बनाउन थालिएको गौशालामा ३५ लाखसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।
गौशालासंगै भर्मिङ्ग कम्पोष्ट मल उत्पादन गर्ने योजना छ । चौधर नदी र कनकट्टी खोलाको संगम नजिक गौशाला बनाउन थालिएको छ ।
ती दुबै नदीको संगम भएको स्थानलाई त्रिवेणी धाम नामाकरण गरिएको छ । बागफाँटाका स्थानीय मिलन सिहले धाम बनाउने कार्यको अगुवाई गरेका छन् । सिह विपद् व्यवस्थापन समितिमा पनि सदस्य छन् ।
यस अघि धाम क्षेत्रमा पनि गौशाला बनाएर छाडा गाई गोरु राखिएका छन् । समितिका सदस्य सिहले कम्पोष्ट मल उत्पादन, छाडा पशु चौपायाको पालन, स्थानीयलाई रोजगारी, रसायनिक मल मुक्त गर्ने लक्ष्य राखेर गौशाला बनाउन थालिएको बताए ।


गौलाशा निर्माण कार्य शिलान्यास गर्दै उप मेयर लेखकले छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण कार्य आवश्यक भएको बताइन् ।
‘यो एकदमै आवश्यक छ, नगरपालिकाले पनि यसमा काम गरि रहेको छ , यसबाट छाडा चौपाया व्यवस्थापनमा सहयोग पुग्छ, यसमा भीमदत्त नगरपालिका पूर्ण सहयोग गर्छ’ उप मेयर जोशीले भनिन् ।
नगरपालिकाले गौशाला निर्माणमा सहकार्य गर्ने उप मेयर जोशीले बताइन् । भीमदत्त नगरपालिकाको सबै वडामा गौशाला बनाएर छाडा चौपाया व्यवस्थापन गर्ने योजना छ ।
त्रिवेणी धाम गौशाला निर्माणका लागि तत्काल नगरपालिकाबाट आवश्यक सामाग्री सहयोग गरिएको उप मेयर जोशीले बताइन् ।
गौशाला शिलान्यास कार्यक्रममा उप मेयर जोशी सहित भीमदत्त नगरपालिका १९ का वडा सदस्य डम्बर जोरा, त्रिवेणी विपद् व्यवस्थापन समितिका अध्यक्ष सरस्वती चन्द सिंह, निड्सको स्कोप आर थ्री परियोजनाका संयोजक ईश्वर उपाध्यय लगायतका सहभागी भए ।
स्कोप परियोजनाले गौशाला निर्माणमा सहयोग गरेको छ । परियोजना संयोजक उपाध्ययले ७ लाख ८० हजार सहयोग गुरेको बताए ।
‘जैविक मल उत्पादन गर्ने लक्ष्य सहित यो गौशाला बनाउन थालिएको छ, यसबाट छाडा चौपाया व्यवस्थापनमा सहयोग पुग्छ’ उनले भने ।
स्थानीय केशब भाटले गौशालाले छाडा चौपायाको कारण स्थानीयले पाउँदै आएको सास्ती कम हुने बताए ।
