

राजेन्द्रप्रसाद पनेरु
महेन्द्रनगर । संविधान प्रदत्त अधिकार कार्यान्वयन गराउनका लागि एकवद्ध भएर अगाडि बढनु पर्नेमा दलित अगुवाहरुले जोड दिएका छन् ।
शुक्लाफाँटा नगरपालिका १० झलारीमा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको संविधानमा भएका दलित अधिकारहरुको कार्यान्वयन विषयक जिल्ला स्तरीय अन्तक्रिया कार्याक्रमका सहभागीहरुले संविधानमा दलित समुदायको हक अधिकार स्थापित गर्न सरकारलाई दवाव दिनु पर्ने बताएका हुन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीले दलित समुदायलाई सशक्तिकरण गर्नका लागि योजनावद्ध रुपमा कार्यक्रम सञ्चालन गरिने बताए । मन्त्रालयका तर्फबाट दलित लक्षित कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याईने उनले उल्लेख गरे ।
उनले संविधानमा भएका व्यवस्था लागू गराउन दलित अगुवाहरुले सशक्त भुमिका निर्वाह गर्नु पर्ने बताए । पूर्व मन्त्री विशेन्द्र पासवानले संविधान संसोधनन गरी पूर्ण सामानुपातिक बनाईनु पर्ने बताए ।

पूर्ण समानुपातिक व्यवस्था कायम नहुदा सम्म दलित मुक्ति असम्भव भएको उनले बताए । भारतीय दलित आन्दोलनको अध्ययन गरी मुद्दा स्थापित गरिनु पर्नेमा उनको जोड थियो ।
संविधान सभा सदस्य हरि श्रीपाइलीले हरेक निकायमा दलित समुदायको प्रतिनिधित्व हुनु पर्ने बताए । दलितका मुद्दा ओझेलमा पर्दा संविधान प्रदत्त अधिकार प्राप्त हुन नसकेको उनको जोड थियो ।
“संविधान त्यसै आएको होइन” उनले भने, “दलित समुदायको अहं भूमिका छ, त्यो भूमिकालाई बिर्षने कार्य गरिनु हँुदैन, संविधान कार्यान्वयन गरी अक्षरशः अधिकार स्थापित गर्ने कार्य तीन वटै सरकारको हो ।”
सुदूरपश्चिम योजना आयोगका उपाध्यक्ष गणेश विकले संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्न निरन्तर पैरवी गर्नु पर्ने आवश्यकता रहेको बताए । समानुपातिकको मुद्दालाई अगाडि बढाई संविधान संशोधनका लागि निरन्तर दबाव दिनु पर्ने उनले बताए ।
राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले संविधानले दिएको अधिकार कार्यान्वयन नहुदा दलित समुदाय सुरक्षित आवास, रोजगार, स्वास्थ्य, शिक्षा लगायतबाट बञ्चित रहेको बताए । उनले हलिया मुक्तिको घोषणा भएको वर्षौ वितेपनि अझै पनि पुनःस्थापन कार्यले पूर्णता नपाएकोमा चिन्ता व्यक्त गरे ।
मिजार समाज नेपालका सुदूरपश्चिम अध्यक्ष राजुराम सार्कीले संविधनतः दलित समुदायका पुख्र्यौली शिल्पी पेशा व्यवसायलाई आधुनिकिरण गरी रोजगारी सृजना गरिनु पर्ने बताए । कार्यक्रममा दलित अधिकारकर्मी, संघ संस्थाका प्रतिनिधि, दलित अगुवा लगायतको सहभागीता रहेको थियो ।
