
सुडामा भत्किएको कल्भर्टमा स्कुटर हुत्तिएर गोबरैयाका भट्टको मृत्यु

महेन्द्रनगर । पूर्व पश्चिम राजमार्गको सुडामा स्कुटर दुर्घटना हुँदा पछाडी सवार एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–७ सुडामा सुदूरपश्चिम प्रदेश ०१००८ प ४०७७ नम्बरको स्कुटर शनिवार दुर्घटना हुँदा पछाडि सवार भीमदत्त नगरपालिका–१८ गोबरैया बस्ने २३ वर्षीय भुवन भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।
दुर्घटनामा स्कुटर चालक सोही ठाउँका २४ वर्षीय खेम भट्ट घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटर आफै अनियन्त्रित भई खोलामा खसेको प्रहरीले जनाएको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडा चोकको कल्भर्ड गत असार तेस्रो साता आएको बाढीले भत्किएको थियो । त्यहाँ कल्भर्ड अझै बनेको छैन । नजिकै डाइभर्ट गरेर सवारी साधन आवागमन गर्ने गरिएको छ । स्कुटर राजमार्गबाट सीधै कल्भर्डमा हुत्तिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गत असार अन्तिम साताको भीषण वर्षासँगै आएको बाढीले रामार्गको कल्भर्ट भत्काएको थियो । एक सातापछि सडक डिभिजन कार्यालयले डाइभर्सन बनाएर राजामार्गमा यातायात सञ्चालन गरिएको थियो ।
सुडामा मात्रै होइन, बाढीले भीमदत्त नगरपालिका–६ ऐठपुरमा भत्काएको कल्भर्ट पनि पुन निर्माण हुन सकेको छैन । सडकको बीचमा रहेको कल्भर्ट भत्किएपछि दायाँ र बायाँबाट आउजाउ भइरहेको छ ।
उक्त क्षेत्रमा कल्भर्ट निर्माणका लागि कन्सल्ट्यान्ट मार्फत डिजाइन र इस्टमेट निर्माण भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारा सिग्देलले बताए । डिजाइन र इस्टमेट निर्माण सकिएपछि ठेक्का प्रक्रियामा जाने बताए ।
उनका अनुसार उक्त स्थानमा डबल सेल बक्स कल्भर्ट निर्माण गरिनेछ । जसका लागि २ करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ ।
