

महेन्द्रनगर । बेलौरी–लालझाडी क्षेत्रमा केही दिनदेखि हात्तीको बथानले वासिन्दामा सन्त्रास फैलिएको छ । असोज १३ गते राति हात्तीको आक्रमणबाट लालझाडी ४ का ५० वर्षीय रामदल रानाको मृत्यु भएको थियो ।
असोज २२ गते राति बेलौरी ६ का २२ वर्षीय उमेश चौधरीको पनि हात्तीकै आक्रमणबाट ज्यान गयो । रानाको मृत्युपछि बेलौरीमा स्थानीयलाई घुमफिर, मेलापात र राति हिँडडुल गर्न समस्या परेको छ ।

अहिले बेलौरी नगरपालिका वडा नम्बर ५ का जङ्गल छेउका मानव बस्तीहरूमा जङ्गली हात्तीको ठूलो बथानले बालीनाली नोक्सान गर्ने, घरहरू भत्काउने जस्ता उपद्रव गतिविधि गरिरहेको पाइन्छ ।
बेलौरी–कलुवापुर सडकखण्ड लगायत जङ्गल आसपासका बस्तीमा जाने सडकखण्डमा ओहोरदोहोर गर्दा समेत त्रसित हुनु परेको यात्रुहरूको भनाइ छ । उक्त स्थानका बासिन्दाहरूमा त्रास बढेको छ भने हात्ती बस्तीमा पसेमा भगाउनका लागि रातभर जाग्राम समेत बस्नु परेको स्थानीय बासिन्दाको भनाइ छ ।
हप्तौँदेखि जङ्गली हात्तीको त्रास कायम रहँदा पनि सरोकारवाला निकायले कुनै ठोस कदम चालेको देखिँदैन । मानव बस्तीमा पसेका हात्तीलाई उनीहरूको वासस्थानमै फर्काउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, डिभिजन बन कार्यालय, तिनै तहका सरकार र सरोकारवाला निकाय समयमै गम्भीर नहुने हो भने मानव–वन्यजन्तु बिचको द्वन्द्व थप बढ्ने देखिन्छ ।
