
मदनचोकमा २२ सटर बनाउन नहुने भन्दै भीमदका मेयर बोगटी विरुद्ध सत्ता पक्ष प्रतिपक्षका युवा विद्यार्थीको मोर्चाबन्दी

महेन्द्रनगर । मदनचोकमा भत्काइएका २२ सटरका स्थानमा नयाँ सटर बनाउन नहुने भन्दै सत्ता साझेदार एमाले काँग्रेस सहित प्रतिपक्षी दलका युवा विद्यार्थीले भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी विरुद्ध मोर्चाबन्दी बनाएका छन् ।
एमाले सहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पाटी, काँग्रेस सहितका दलका युवा, विद्यार्थीले भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद सापकोटालाई अल्टिमेटम बुझाएका हुन ।
महेन्द्रनगर नगर विकास समितिको अतिक्रमित जमिन खाली गर्नुपर्ने र नगरविकास समिति, नगरपालिका स्वामित्वमा रहेका सटरको भाडाको विषयमा समेत ध्यानाकर्षण गराएका छन । विगतदेखि केही व्यक्ति व्यवसायीले सटर हत्याएर तेब्बर बढि भाडा अशुल्ने काम भएको भन्दै सो कार्य पनि रोक्नुपर्ने माग अघि सारेका छन् ।
जिल्लाका युवा विद्यार्थीले बुझाएको ज्ञापन पत्र बुझ्दै भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद सापकोटाले नगर विकास समितिको जमिन, सटर भाडादेखि सटर निर्माणको विषयमा थप अध्ययन गरेर अघि बढ्ने बताएका थिए ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता बिरेन्द्रराज विष्टले सडकलाई डिस्टर्ब हुने गरेर पुन सटर निर्माण गर्ने कार्यको बिरोध भईरहेको बताए । ‘पहिले पनि उक्त २२ सटरका कारण लामो समयसम्म सडक बनेन, अहिले फेरी ठाँउ नै नभएको स्थानमा सडक बनाउन खोजियो, ‘उनले भने, ‘फुटपाट नै नराखेर सटर निर्माण कार्यको हाम्रो बिरोध हो ।’
अर्कातिर अतिक्रमित सार्वजनिक जमिन हटाउने काम भएको छैन ।’ नेकपा एकीकृत समाजवादीका युवा नेता प्रज्वल कुँवरले बजारको कुरुपता नियम विपरित निर्माण हुने सटर बिरुद्धमा आन्दोलन गर्न लागेको बताए । उनले स्थानीय सरकारले आफ्ना नेता कार्यकर्ताहरुलाई पोस्नका लागि नियम विपरित गर्ने कार्यको सबै दल संघ संगठनले बिरोध गरेको बताए ।
नेकपा माओवादी कञ्चनपुरका युवा नेता सिके भट्टले २२ सटर सहितका सबै बेथिति बिरुद्धमा युवा, विद्यार्थी एकजुट भएको बताए । ‘सरकारी जमिन र सडक हडप्ने गिरोह बिरुद्ध हाम्रो प्रारम्भिक आवाज हो, ‘उनले भने, ‘यो अब जिल्लाभरीका सरोकारका विषयमा मुद्दा उठान गछौँ ।’ जिल्ला सदरमुकाम भीमत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सुचना आब्हान गरेसंगै चौतर्फि बिरोध भईरहेको छ ।
विभिन्न राजनीतिक दल निकट विद्यार्थी युवा संघ संगठनहरुका नेता कार्यकर्ताहरुले बजारमा २२ सटर नबनाउन माग अघि सारेर भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।
नेकपा बहुमत कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले मापदण्ड विपरित फेरीपनि स्थानीय सरकारले व्यवसायीलाई सडक मिचेर सटर बनाईदिने निर्णय बिरुद्धमा चौतर्फी विरोध भएपछि विभिन्न राजनीतिक दल निकट युवा विद्यार्थीले प्रशासन र भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाएको बताए । निकालेको टेण्डर २४ घण्टासम्म बदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन ।
