ghar sansar

आश्रमबारे बोल्दाबोल्दै शारदाको खस्यो आँशु, भनिन्– अब चलाउन सक्दैनौ, सरकारलाई साँचो बुझाउँछौ

khasi

महेन्द्रनगर । ‘अब भोकमरी हुने अवस्था छ, संघीय सरकारले केही रकम दिन्थ्यो, त्यसले तीन महिना पुग्थ्यो, स्थानीय सरकारले नदिएको ८ वर्ष पुग्यो, यसरी तीन तहको सरकारबाट सहयोग नपाएपछि अब कसरी भरणपोषण गर्ने । हिजो जसरी सहयोग पनि मिल्दैन, दान गर्ने दाता विस्तारै घट्दै गए,अब के गर्ने त हामी, अब आश्रम चलाउन सक्दैनौ ।’

भीमदत्त नगरपालिका ५ वनखेतस्थित महिला तथा वृद्ध सेवा केन्द्र वृद्धाश्रममा बिहीबार विहान केन्द्रका अध्यक्ष शारदा चन्दले वृद्धाश्रमको अवस्थाबारे जानकारी गराउँदै सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बताइन् ।

१८ वर्षदेखि आश्रम सञ्चालन गर्दै आएकी चन्द सरकारलाई आश्रमको साँचो बुझाउनु पर्ने मनस्थितिमा पुगेकी छन् । उनले पत्रकार सम्मेलनमा सरकारलाई साँचो बुझाउने घोषणा गरिन् ।

तीन तहका सरकारका सहयोग नपाएको र आफ्नो ढल्किँदो उमेरका कारण आश्रम सञ्चालन गर्न सक्ने अवस्था नभएको अध्यक्ष चन्दले बताइन् ।

‘२८ वर्षको हुँदा १८ वर्ष अघि आश्रम खोले, म अहिले ४९ वर्षकी पुगे, मसंगै हिरा भट्टजी पनि आउनु भाको हो, वहाँको पनि उमेर यसैमा गयो, पहिला जसरी डुलेर सहयोग जुटाउन पनि उमेरले साथ दिँदैन’ उनले भनिन्,‘अब सरकारले लिई दिनु प¥यो, सरकारलाई साँचो बुझाउँछौ, अब हामी यो आश्रम चलाउन सक्दैनौ ।’

पत्रकार सम्मेलनमा केन्द्रकी सदस्य भट्टले कार्यक्रम सञ्चालन गरेपछि अध्यक्ष चन्दले आश्रमको अवस्थाबारे जानकारी गराएकी हुन् । आश्रमको अवस्थाबारे जानकारी गराउँदै चन्दले आँखाबाट आँशु खसालिन् । आँशु खसेपछि केही समय पत्रकार सम्मेलनमा सन्नाटा छायो । त्यसपछि उनले आफूलाई सम्हाल्दै आश्रम सञ्चालनका लागि सहयोगका लागि सरोकारवालासित आग्रह गरिन् ।

पत्रकार सम्मेलनमा आश्रमका सल्लाहकार वरिष्ठ समाजसेवी लिलाध्वज वस्नेत, अग्रज पत्रकार चित्राङ्ग थापा, आदर्श विद्या निकेतनका सञ्चालक भोजराज पन्त, इन्टरनेशनका सञ्चालक गौराज बहादुर लिम्बु लगायत सहभागी भएका छन् ।

केन्द्रका सबै सल्लाहकारसित अध्यक्ष चन्दले आश्रमलाई सहयोगका लागि पहल गरि दिन आग्रह गरिन् ।

विभिन्न क्षेत्रसित सहयोग मागेर १८ वर्ष अघि सञ्चालन गरिएको आश्रमले मुठीदान गरी वृद्धवृद्धा सहितको भरणपोषणा गर्दै आएको छ । आश्रममा भरणपोषणका लागि कुखुरा, बाख्रा पालन र च्याउ खेती समेत गरिएको थियो ।

आश्रमले मुठीदानबाट आश्रमका लागि खाद्यान्न जोहो गर्दै आएको थियो । धान र गहुँ काट्ने बेलामा आश्रमका कर्मचारी खेतमा पुगेर सहयोग संकलन गर्दै आएका थिए । अध्यक्ष चन्दले पछिल्लो पटक खाद्यान्न सहयोग पनि अपेक्षित रुपमा संकलन हुन नसकेको बताइन् ।

‘हिजो जसरी हामी सहयोग पाउँथ्यौ, धान काट्ने बेला खेतमा जान्थ्यौ, त्यसरी आश्रम चलेको थियो, बजारमा तरकारी माग्न जान्थ्यौ, अहिले किसान पनि पहिलो जसरी सहयोग गर्ने अवस्थामा छैनन्, बजारमा तरकारीका लागि व्यवसायीले पनि त्यस्तै कुरा गर्छन्’ उनले बाध्यता सुनाइन् ।

तीन तहका सरकारमध्ये आश्रमलाई कसको जिम्मा लगाउने भनेर पनि अन्यौल भएको चन्दले बताइन् । ‘कसको जिम्मा लगाउने, संघले लिन्छ कि स्थानीय सरकारले लिन्छ’ उनले भनिन् ।

आश्रमको आर्थिक अवस्था कमजोर भएकाले रोग लागेका वृद्ध वृद्धालाई अस्पताल लैजान समेत समस्या भएको दुखेसो चन्दले पोखिन् ।

आश्रमले बजारमा १८÷१९ लाख उधारो तिर्न बाँकी भएको चन्दले बताइन् । आफ्ना श्रीमानको पेन्सन बुझेर पानी, विद्युत महसुल र तरकारीको उधारो तिरेको उनको भनाई छ ।

dirghayi clinic

विद्युत महसुल तिर्न नसकिएपछि आश्रममा विद्युत लाइन काटिएको थियो । श्रीमानको पेन्सनबाट विद्युत महसुलको ६७ हजार तिरेर लाइन जोडिएको चन्दले बताइन् । तत्कालिन गाउँ विकास समितिका सचिव उनका श्रीमान ललित चन्दको केही वर्ष अघि निधन भएको थियो ।

श्रीमानको पेन्सनबाट उधारो तिर्नु परेको सुनाउँदा उनी भक्कानिएकी हुन् । उनी पत्रकार सम्मेनलमा उपस्थित आश्रद्धका केही वृद्धवृद्धा पनि रोएका थिए ।

वृद्धाश्रममा १० जना टुहुरा, अनाथ र यौन हिंसा पीडित बालबालिका सहित ६० जना छन् । उनीहरुमा ३५ जना वृद्धा र २५ जना वृद्ध छन् । आश्रमको वृद्धवृद्धा अध्यक्ष चन्दलाई आमा भनेर सम्बोधन गर्छन् ।

अध्यक्ष चन्दले आफ्नो भनाई राखेपछि आश्रममा बस्दै आएकी लक्ष्मी उपाध्ययले आफूहरुको आमालाई समस्या परेको भन्दै सहयोगका लागि आग्रह गरिन् । छोरीहरुको विवाह भएपछि काठमाडौंकी उपाध्यय १५ वर्षदेखि आश्रममा बस्दै आएकी छन् ।

‘हामी आमा पाउँदा निकै खुसी छौ, वहाँ हाम्रो दाता नै हो,वहाँले नै हो हामीलाई पाल्ने , सरकारले केही गर्दैन’ उनले भनिन्,‘यात जहर दिएर हामीलाई मारि दिनु परो, यात केही सहयोग गर्नु प¥यो, अब हामीले के गर्ने, आमालाई यो दुःखी अवस्थामा देख्न सक्दैनौ ।’

आश्रम सञ्चालनका लागि विदेशबाट सहयोग आएको बाहिर प्रचार गरिएको भन्दै अध्यक्ष चन्दले असन्तुष्टि पोखिन् । उनले विदेशबाट सहयोग आएको पुष्टि गरे आफू सहित केन्द्रका सबै पदाधिकारी र सदस्यले जस्तो सुकै कानुनी कारवाही भोग्ने बताइन् ।

‘हाम्रो अवस्था यस्तो छ, बाहिर भने विदेशबाट धेरै डलर आएको छ, नेपाल सरकारले पनि अथाह सहयोग गर्छ भन्ने प्रचार बाहिर गरिएको रहेछ’ उनले भनिन्,‘त्यस्तो सहयोग आएको कसैले देखाई दिए हामी जस्तो सुकै सजाय भोग्न तयार छौ ।’

संघीय शासन व्यवस्था अनुसार स्थानीय, प्रदेश र संघको निर्वाचन भएपछि सहयोग आउन छाडेको चन्दको भनाई छ । २०७४ अघि भीमदत्त नगरपालिका र तत्कालिन जिल्ला विकास समितिबाट सहयोग आउने गरेको थियो ।

स्थानीय सरकारसित पटक पटक आग्रह गर्दा सहयोग पाउने नसकिएको र प्रदेश तथा संघ सरकारसित आफ्नो पहुँच नभएकाले समस्या भएको चन्दले बताइन् ।

‘संघ र प्रदेश सरकारसित सहयोगका लागि जाँदा साँसद मार्फत आउनु भन्नु हुन्छ, त्यस्तो गर्न मेरो पहुँच पुग्दैन’ उनले भनिन् ।’
आश्रम भरणपोषणका लागि मासिक रुपमा २ लाख ६७ हजार ७ सय ८० रुपैँया खर्च हुने गरेको छ ।

यो रकम वर्षभरि ३३ लाख ७४ हजारसम्म पुग्ने गरेको छ । सकारी निकाय सहित दाताबाट आश्रममा ५ लाख ५९ हजार आम्दानी भएको छ ।

आर्थिक अभावसित जुधि रहेको आश्रम यस वर्ष बाढी पनि विपत्ति ल्याएको छ । असार २३ गते बाढी आश्रमभित्र पसेको थियो । बाढीले आश्रमको तल्लो कोठा भरिएपछि वृद्धवृद्धालाई पौडी खेलेर माथिल्लो तलामा लगेर जोगाइएको थियो ।

बाढीले च्याउ, कुखुरा लगायतलाई बगाएको थियो । आश्रमका उपाध्ययले आश्रमका दुई जनाले पौडी खेलेर आफूहरुलाई माथिल्लो तलामा लगेर ज्यान जोगाएको बताइन् ।

आश्रमले हालसम्म १ सय २ जना वृद्धवद्धाको दाहसंस्कार गरेको छ। अध्यक्ष चन्द आफैं महाकाली नदी गएर दाहसंस्कार गर्दैै आएकी छन् ।

हिन्दू परम्परा अनुसार महिलालाई दाहसंस्कार कार्यमा सहभागी नहुने मान्यता छ । त्यसलाई चिर्दै अध्यक्ष चन्दले लामो समयदेखि दाहसंस्कार गर्दै आएकी हुन् ।

Himal dental
सम्बन्धित
Loading...