

महेन्द्रनगर । भीमदत्त नगरपालिका १७ का जनकराज जोशी बर्सेनी रक्तदान गर्दैै आएका छन् । यस पटक उनले रक्तदान गरेको १८ औं पटक पुगेको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँसखेडा ऐरी उप शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा जोशीले केही दिन अघि रक्तदान गरेका हुन् ।
उनी रेडक्रस शाखाका निवर्तमान सभापति हुन् । दुई दशक अघि जोशीको नेतृत्वमा रेडक्रस शाखा स्थापना गरिएको थियो ।

हाल जोशी नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका उप सभापति छन् । ‘२०६० मा रेडक्रसको शाखा स्थापना भयो, म त्यसको संस्थापक सभापति हुँ, शाखा स्थापना भएपछि मैले हरेक वर्ष रक्तदान गर्दै आएको छु’ उनले भने ।

एबी पोजिटिभी रगत भएका जोशी रक्तदान गरेपछि शरिर हल्का हुने बताउँछन् । ‘रक्तदान गरेपछि कमजोर हुने भ्रम छ, त्यो गलत हो, रक्तदान गरेपछि मलाई कुनै समस्या हुँदैन, अप्ठेरो हुँदैन, शरिर हल्का हुन्छ’ उनले भने ।
रेडक्रस शाखा स्थापना भएपछि जोशीले ब्लड डोनेशन अभियान सञ्चालन गरेका थिए । त्यस अभियानबाट धेरै जनाको ज्यान जोगिएको अनुभव जोशीले सुनाए ।
जोशीको कार्यकालमा शाखाले एम्बुलेन्स किनेको थियो । बाँसखेडामा केही दिन अघि गरिएको रक्तदान कार्यक्रममा भीनपा १७ का वडा अध्यक्ष पदम बुढा सहितले रक्तदान गरेका थिए ।
जोशी सरस्वती माध्यमिक विद्यालय परखेडीका शिक्षक हुन् । उच्च माध्यमिक विद्यालय दरबन्दीका उनी २०६४ देखि शिक्षण पेशामा छन् ।
