

महेन्द्रनगर । असार तेस्रो साताको बाढीबाट जिल्लामा कञ्चनपुरमा एक अर्ब ५७ करोडको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो ।
कृषि क्षेत्रमा ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ बराबरको क्षति भएको छ भने महाकाली सिँचाइ व्यवस्थापन कार्यालयमा २९ करोड २२ लाख, महाकाली सिँचाइ तेस्रो चरण कार्यालयमा दुई करोड ३२ लाख ५२ हजार ९ सय, सडक डिभिजन कार्यालयमा तीन करोड ८८ लाख ७० हजार, पूर्वाधार विकास कार्यालयतर्फ सात करोड १९ लाख ७५ हजार बराबरको क्षति भएको छ ।

यस वर्षको मनसुनमा सबैभन्दा बढी क्षति कञ्चनपुरमा भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा २२ लाख, जनताको तटबन्ध कार्यालयको ४७ करोड ४२ लाख ८३ हजार ९ सय ८३, घरेलु तथा साना उद्योग कार्यालयको १७ लाख ६५ हजार, कृषि ज्ञान केन्द्रको ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ र पशुधनमा एक करोड २३ लाख ९१ हजार गरी जम्मा एक अर्ब ६७ करोड १० लाख २१ हजार चार सय २९ बराबरकोे क्षति भएको छ ।

बाढीका कारण कञ्चनपुरमा चार जनाको मृत्यु भएको थियो । असार २३ र २४ गते कञ्चनपुरमा भीषण वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि देशमा त्यति धेरै पानी कहिल्यै परेको थिएन ।
भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले पनि कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो ।
दोधारा–चाँदनी क्षेत्रमा रेकर्ड ब्रेक वर्षा हुँदा बाढीले उग्ररूप लिएको थियो । २४ घण्टामै ६२४ मिलिमिटर वर्षा हुँदा महाकालीसहितका नदीको बाढीले २७ घर बगाएको थियो भने सयौँ बिघाको धानबाली नष्ट गरेको थियो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार वर्षापछिको बाढीका कारण कञ्चनपुरमा एक अर्ब ५७ करोडको त भौतिक क्षति मात्र भएको हो । बाढीले घर बगेका २७ परिवारलाई अस्थायी आवास निर्माण गर्न अनुदान दिइएको छ । तर, कृषिबाली र अन्य क्षतिको हकमा भने राहत दिने काम भएको छैन ।
