

महेन्द्रनगर । गड्डाचौकीस्थित सृजनात्मक बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री सुदूरपश्चिम प्रदेश सभा सदस्य राजेन्द्र सिह रावलको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।
साधारण सभाको बन्द सत्रबाट सहकारीको आगामी वर्ष बजेट, नीति, कार्यक्रम पारित गरिएको छ । डायमण्ड पब्लिक एकेडेमीको प्राङ्गणमा गरिएको साधारण सभाको उद्घाटन कार्यक्रमपछि बन्द सत्र गरिएको छ ।

सहकारी संस्थाका अध्यक्ष मदन सिह क्षेत्रीको अध्यक्षतामा गरिएको कार्यक्रममा पूर्व मुख्यमन्त्री रावलले साधारण सभा उद्घाटन गरे ।
पूर्व मुख्यमन्त्री रावलले सहकारी संस्था कमजोर आर्थिक अवस्था भएका वासिन्दाको आर्थिक अवस्था सुधार ल्याउने महत्वपूर्ण खम्बा भएको उल्लेख गर्दै सहकारीले राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पारेको बताए ।
सहकारी संस्थालाई कानुन सम्मत सञ्चालन गर्न पर्ने आवश्यकता औंल्याउँदै उनले सहकारी कानुन मिचेर र गलत नियत भएका व्यक्तिहरुको प्रवेशले सहकारीको रकम अपचलन लगायतका समस्या देखिएकाले रावलको भनाई थियो ।
सहकारी संस्थाका समुदायले सञ्चालन गर्ने उल्लेख गर्दै उनले सहकारीप्रति अपनत्वले मात्रै सहकारी संस्था सफल रुपमा सञ्चालन हुने बताए ।

कार्यक्रमका विशिष्ठ अतिथि सुदूरपश्चिम विशिष्ठकृत सहकारी संघका अध्यक्ष गणेश बहादुर चन्दले सहकारीका सञ्चालक र शेयर सदस्य सक्रिय नभएपछि सहकारीमा समस्या आउने उल्लेख गरे ।
सहकारी ऐन पालना गरी सञ्चालन गरिएका सहकारीमा समस्या नभएको उल्लेख गर्दै उनले नियम कानुन मिचेर कारोबार गर्र्दै आएका सहकारीमा समस्या देखिएको चन्दको भनाई थियो ।
नेपाल बचत तथा ऋण सहकारी संघका भवानी चन्द, उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष नारा जोशी, भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, भीमदत्त नगर सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेल, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बहादुर चन्दले शुभकामना मन्तव्य राखे ।

सहकारीका उपाध्यक्ष उद्धब बहादुर चन्दले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव कृष्ण बहादुर बोहराले वार्षिक र कोषाध्यक्ष धनञ्जय जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । उद्घाटन सत्रमा प्रस्तुत गरिएका ती दुबै प्रतिवेदन बन्द सत्रबाट पारित गरिएका छन् ।
उद्घाटन कार्यक्रममा सहकारीका अध्यक्ष क्षेत्रीले आफूहरु सहकारी ऐन कानुन पालना गरी संस्था सञ्चालन गर्दै आएको बताए ।

३२ जना शेयर सदस्यबाट सुरु गरिएको सहकारीमा हालमा एक हजार दुई सय २० शेयर सदस्य पुगेका छन् । ३ करोड ७१ लाख ८२ हजार शेयर पूँजी भएको सहकारीले आर्थिक वर्ष २०८०÷०८१ मा एक करोड ७७ लाख ७८ हजार बचत संकलन गरेको छ । सहकारीले सोही वर्ष ६ करोड ८१ लाख ८८ हजार ऋण लगानी गरी ५ करोड ६४ लाख अशुल गरेको छ ।
साधारण सभाबाट एकल महिलालाई सहुलियत पूर्ण ब्याजदरमा कर्जा, ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रमलाई निरन्तरता, शेयर सदस्यका छोरा छोरीमध्ये कमजोर आर्थिक अवस्था भएका सदस्यका सन्तानलाई माध्यमिक तहसम्म अध्ययनका लागि छात्रबृत्ति प्रदान, संस्थाको सेवा केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रम पारित गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
उत्कृष्ठ कारोबार गर्ने तीन शेयर सदस्य नगद सहित सम्मानित
उद्घाटन कार्यक्रममा उत्कृष्ठ कारोबार गर्ने तीन शेयर सदस्यलाई नगद सहित सम्मान गरिएको छ । सम्मानित हुनेमा उमा चन्द, राम बहादुर बुडा र नन्दलाल भट्ट छन् । उनीहरु सबैलाई नगद ५ हजार १ सय सहित प्रशंसा पत्र प्रदान गरिएको छ ।
सहकारीले आर्थिक वर्ष २०७०÷०७१ देखि उत्कृष्ठ कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गर्दै आएको छ ।
ज्येष्ठ नागरिकलाई सम्मान
सहकारीले साधारण सभा उद्घाटन कार्यक्रममा दुई जना ज्येष्ठ नागरिकलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेमा राधा कुमारी जोशी र हरि सिंह कार्की छन् ।

