

महेन्द्रनगर । सामुहिक कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । सामुहिक कुटपिटबाट कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुर घर भएका ३० वर्षीय सुरेश भुलको उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई पाँच जनाले कुटपिट गरेका थिए । बाख्रा चोरेको आरोपमा ती युवकलाई सामुहिक रुपमा कुटपिट गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति कुटपिट भएको हो ।

कुटपिटबाट घाइते भुलको सोमबार बिहान निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको डिएसपी बोहराले बताए ।

उनका अनुसार भुलमाथि कुटपिट गर्ने गौरीगंगा नगरपालिका–११ कान्तिपुरकी ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल (नाम परिवर्तन), २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विक रहेका छन् ।
भुलको मृत्यु भएपछि उनीहरुलाई सोमबारबिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेको हो । नियन्त्रणमा लिएका पाँचै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक भुल सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीका सदस्य समेत थिए ।
सिमए समेत गरेका भुललाई बाख्रा चोरी गरेको आरोपमा स्थानीय छिमेकीले नै कुटपिट गरेका थिए । इलाका प्रहरी कार्यालय मसुरियाका वरिष्ठ सई लक्ष्मीदत्त भट्टका अनुसार मृतक भुलले बाख्रा चोरेको भन्दै २० गते निवेदन परेको थियो ।
वडा कार्यालयको सीसीटीभी फुटेज हेर्दा मृतक भुलले बाख्राको कान समातेर लगेको देखिएको उनले बताए । मृतक भुलको आफ्नै मेडिकल समेत छ ।
