

महेन्द्रनगर । भीमदत्त नगरपालिका–६ मा मंसिर १६ गते उप निर्वाचनका लागि आइतबार उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दै छन् । उप निर्वाचनका लागि वडा कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार विहान १० बजेदेखि उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो ।
भीनपा ६ मा वडा अध्यक्षका लागि उप निर्वाचन हुन लागेको हो । गत वर्ष वडा अध्यक्ष महेन्द्र खड्काको निधन भएको थियो । रिक्त वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउन दलहरुले समय लिइ सकेका छन् ।

मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका न्यायाधीश लिलाराज अधिकारी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ६ वटा मतदान केन्द्रमा मतदान अधिकृत सहित ३० जना कर्मचारीलाई खटाइने छन् । मतदान केन्द्रमै ६ जना स्वयंसेवक राखिने भएका छन् ।
निर्वाचन कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीअनुसार पाँच हजार ४३४ मतदाता छन् । त्यसमध्ये पुरुष मतदाता दुई हजार ६६५ र महिला मतदाता दुई हजार ७६९ छन् । सबै मतदान केन्द्र अपाङ्गमैत्री बनाइने कार्यालय प्रमुख उदय जोशीले बताए ।
निर्वाचन कार्यतालिकाअनुसार मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, ६ गतेदेखि १३ गतेसम्म उम्मेदवारले प्रचारप्रसारको कार्य गर्ने कार्यक्रम तय गरिएको छ ।
मंसिर १६ गते शान्ति निकेतन माध्यमिक विद्यालयमा निर्धारण गरिएका मतदान केन्द्रमा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान गर्ने कार्यक्रम राखिएको छ ।
