महेन्द्रनगर । वेदकोट नगरपालिका ३ दैजीस्थित शारदा माध्यमिक विद्यालयका प्रधाध्यापक परमानन्द भट्टले केही दिन अघि सामाजिक सञ्जाल फेसुबकमा विद्यालयको तर्फबाट पूर्व विद्यार्थीलाई बधाई दिँदै पोष्ट गरे । प्रधानाध्यापक भट्टको पोष्टलाई चा सय बढीले लाइक र अढाई बढीले कमेन्ट गरेका छन् । सबै कमेन्टहरु बधाईका छन् ।
शारदा माविकी पूर्व विद्यार्थी दिक्षा अवस्थीले पूर्ण छात्रबृत्तिमा एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरेपछि प्रधानाध्यापक भट्टले विद्यालयको तर्फबाट उनलाई बधाई दिएका हुन् ।
‘शारदा मा.वि दैजी बाट एसइई परीक्षा उत्तीर्ण गरेकी प्रतिभावान छात्रा दिक्षा अवस्थी एमबीबीएस पूर्ण छात्रवृत्तिमा पर्न सफल हुनु भएकोमा हार्दिक बधाई । शारदा मा वि दैजी परिवार’ प्रधाध्यापक भट्टले अवस्थी तस्बिर र मधेस स्वाथ्य विज्ञान प्रतिष्ठानको तस्बिर राख्दै फेसबुकमा लेखेका छन् ।
पूर्ण छात्रबृत्तिमा छनौट अवस्थी मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन गर्ने भएकी छन् ।
विद्यालयका प्रधानाध्यापक भट्ट अवस्थी जेहेन्दार र मिहिनेती विद्यार्थी भएको बताए । प्रधानाध्यापक भट्टका अनुसार अवस्थीले शारदा माविबाट कक्षा ९ र १० पढेकी हुन् । त्यस अघि कक्षा ८ सम्म बेदकोट नगरपालिकाको सिद्धनाथ आधारभूत विद्यालयमा पढेकी हुन् ।
‘कक्षा ९ र १० मा शारदामा पढेकी हुन्, पढाई निकै मिहिनेती थिइन, कक्षा र विद्यालयमा प्रथम हुन्थिन्’ प्रधानाध्यापक भट्टले भने,‘अहिले पूर्ण छात्रबृत्तिमा नाम निकाल्दा विद्यालय परिवार खुसी छ, यसले अरु विद्यार्थीलाई पनि पढाईमा प्रेरणा दिन्छ ।’
अवस्थीका बुवा सरकारी कर्मचारी हुन् । विद्यालयका नियमित छात्र अवस्थीले कक्षा १२ मा विज्ञान विषय पढेर एमएबीबीएसका प्रवेश परीक्षा दिएकी हुन् ।
शारदा माध्यमिक विद्यालय वेदकोट नगरपालिका ३ दैजीमा छ । यो विद्यालय बेदकोटको पूरानो विद्यालय मानिन्छ ।