दोधारा चाँदनी नगरपालिकामा देखियो हाँडीगाउँको जात्रा, नगर प्रहरी छान्ने आफूले, दरखास्त दिन लगायो इलाका प्रहरी कार्यालयमा
हाकिम विदा, निमित्त प्रमुखले उठाउँदैनन् फोन
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाले करार सेवमा नगर प्रहरी भर्नाका सार्वजनिक सूचना आव्हान गरेको छ । नगरपालिकाले शुक्रबार स्थानीय पत्रिकामा नगर प्रहरी पदपूर्तिका लागि सूचना आव्हान गरेको छ ।
नगरपालिकाको कार्तिक २६ गतेको निर्णय अनुसार नगर प्रहरी सहायक निरीक्षक सहित १५ जनाका लागि सूचना प्रकाशित गरिएको छ । सार्वजनिक सूचनामा नगर प्रहरी हवल्दार एक जना सहित अन्य सबै जवना छन् । त्यसमा एक÷एक नगर प्रहरी सहायक निरीक्षक, दुई नगर प्रहरी हवल्दार र सात जवान खुला र अन्य महिला, आदिवासी जनजाति र दलितबाट पदपूर्ति गर्न लागिएका छन् ।
महिलाबाट एक नगर प्रहरी हवल्दार, दुई जवान, आदिवासी २ र दलितबाट एक जवानका लागि पदपूर्ति गर्न लागिएको छ ।
मंसिर २० गतेसम्म आवेदन दिन सूचनामा उल्लेख गरिएको छ । नगर प्रहरी सहायक निरीक्षक सहित सबै पदका आवेदकलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा दरखास्त दिन सूचना गरिएको छ ।
सूचनामा दरखास्त फाराम दोधारा चाँदनी नगरपालिका कार्यालयको बेवसाइडमा उपलब्ध हुने उल्लेख गरिएको छ । सूचना दरखास्त बुझाउने कार्यालय भनेर इलाका प्रहरी कार्यालय दोधारा चाँदनी उल्लेख गरिएको छ ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले भने कार्यालयमा दरखास्त फाराम बुझाउने सूचना सार्वजनिक भएको सम्बन्धि अनविज्ञता व्यक्त गरेको छ ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका इन्चार्ज प्रहरी निरीक्षक जगत गाहा मगरले कार्यालयमा नगर प्रहरीका लागि दरखास्त फाराम बुझाउने भनेर सूचना सार्वजनिक भएकोबारे आफूलाई जानकारी नभएको बताए ।
‘नगरपालिकाको निर्णय अनुसार नगर प्रहरी छनौट गर्ने प्रक्रियामा सहजीकरण गर्ने कार्य गर्छौ, नगरपालिकाको निर्णय अनुसार सहयोग गर्र्छाै’ उनले भने,‘हाम्रो कार्यालयमा दरखास्त बुझाउने भनेर सूचना सार्वजनिक भएकोबारे थाह छैन, के भएको छ म बुझछु ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले नगर प्रहरी छनौटका लागि सहयोग माग गरेपछि सहयोग गरिएको बताए ।
‘त्यसमा हाम्रो सहयोग मात्रै हुन्छ, प्रहरी कार्यालयमा दर्ता भने पनि रजिष्ट्रर वहाँहरुको हुन्छ, हाम्रो एक दुई जना प्रहरीले सहयोग मात्रै गर्ने हो’ उनले भने ।
दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्ता हरि सिह धनाडीले नगर प्रहरी कार्य विधि अनुसार नगर प्रहरी छनौटका लागि जनपद प्रहरीसित सहयोग माग गरिएको बताए ।
‘नगर प्रहरी छनौट कार्य विधि अनुसार जिम्मा दिइएको हो’ नगर प्रवक्ता धनाडीले भने,‘प्रहरीले नै छनौट गर्ने भएकाले उतै दरखास्त फाराम दर्ताका लागि पठाईएको हो ।’
इलाका प्रहरी कार्यालयमा दरखास्त फाराम संकलन भएपछि नगरपालिका कार्यालयले प्रवेश पत्र दिने नगर प्रवक्ता धनाडीले बताए ।
नगरपालिकामा जग्गा, बाटाघाटो, कर संकलन लगायत कार्यका लागि नगर प्रहरी भर्ना गर्न लागिएको बताए ।
नगरपालिकाले नगर प्रहरी भर्ना गर्ने निर्णयको व्यापक आलोचना भएको थियो । त्यसपछि नगर प्रमुख किशोर कुमार लिम्बुले सामाजिक सञ्जाल फेसबुकबाट प्रष्टीकरण दिएका थिए ।
दोधारा चाँदनीमा एमाले नेता नगर प्रमुख छन् । आफ्नो नगर प्रहरीको दरखास्त दर्ता समेत इलाका प्रहरी कार्यालयमा गराएपछि उनी थप आलोचना पर्ने जनप्रतिनिधिहरु बताउँछन् ।
दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विदा बसेका बेला नगर प्रहरी भर्ना प्रक्रिया अघि बढेको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले नगर प्रहरी पदपूर्ति सूचना आव्हान गरेका छन् ।
यसबारे जानकारी लिन निमित्त प्रमुख प्रशाकीय अधिकृत जोशीलाई दुई पटक फोन गर्दा उनको फोन रिसिभ हुन सकेन । दोधारा चाँदनीको आन्तरिक आम्दानी झण्डै दुई करोडसम्म हुने गरेको कर्मचारीहरु बताउँछन् ।