ghar sansar

एमालेका बहादुर उम्मेदवार, विरासत फर्काउने विश्वास

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते हुने उप निर्वाचनमा सत्तारुढ नेकपा एमालेका बहादुर चन्द चुनावी प्रचारमा व्यस्त भएका छन् । चुनावी घरदैलो, भेटघाट र कोण सभा सम्बोधन लगायतका प्रचारका कार्यक्रम चन्द विहानदेखि साँझसम्म व्यस्त छन् ।

‘विहानदेखि साँझसम्म प्रचारप्रसारमा लागेका छौ, सबै नेता कार्यकर्ता एक ढिक्का छौ’ उम्मेदवार चन्दले भने, ‘कही कतै समस्या छैन, सबै टोलमा घरदैलो गरि सकेका छौ, मौन अवघि अघिसम्म यो निरन्तर चल्छ ।’

lotus institite

चुनाव प्रचारका क्रममा आफ्नो पक्षमा जन लहर देखिएको चन्द बताउँछन् । ‘अहिलेसम्म हेर्दा हाम्रो पक्षमा लहर नै चलेको छ, यसलाई कायम राख्दै नतिजा हाम्रो पक्षमा आउँछ भन्ने पूर्ण विश्वास छ’ उनले भने ।

एमालेले २०७९ को स्थानीय तह निर्वाचनमा गुमेको विरासत फर्काउन चन्दलाई चुनावी मैदानमा ल्याएको हो । शान्ति निकेतन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक चन्दको व्यक्तित्व, इमान्दारिता र शैक्षिक क्षेत्रमा पुगाएको योगदानले उप निर्वाचनबाट विरासत फर्काउन सकिने एमालेको अपेक्षा छ ।

२०४९ देखि २०७४ सम्म जितेको ६ नम्बर वडामा पहिलो पटक २०७९ को निर्वाचनमा पराजित भएको थियो । उप निर्वाचनबाट एमाले पराजयलाई विजयमा फर्काउने गरी चन्दलाई सर्वसम्मत उम्मेदवार बनाएर एमाले चुनावी मैदानमा होमिएको हो ।

उम्मेदवार चन्द प्रचारप्रसारको क्रममा पाएको साथ र समर्थनले चुनाव जित्नेमा आशावादी देखिन्छन् । भन्छन्,‘भीनपा ६ का महिला, ज्येष्ठ नागरिक, बुद्धिजीवि, शिक्षक, कर्मचारी सहित सबैले घरदैलोको क्रममा साथ र सहयोग दिने आश्वासन पाएको छु, मलाई जनताले जिताउँछन् भन्नेमा विश्वस्त छु ।’

चार महिना अघि शान्ति निकेतन माध्यमिक विद्यालयबाट अनिवार्य अवकाश पाएका चन्द उप निर्वाचनमा एमाले उम्मेदवार भएका हुन् । शिक्षण पेशामा अधिकाँश समय शान्ति निकेतनमै बिताएका एमाले सम्बद्ध शिक्षक संगठनको राजनीतिमा सक्रिय थिए ।

बैतडीको पाटन नगरपालिका ५ गोठानी(वसन्तपुर गाविस) मा २०२१ मा जन्मिएका चन्द १४ वर्षको उमेरमा तराई आएका हुन् । चन्द परिवार २०३३ मा तराई झरेको थियो । त्यति बेला चन्द बैतडीको मेलौली नगरपालिका २ दुर्गास्थानस्थित श्री केदारेश्वर माध्यमिक विद्यालयबाट कक्षा ७ उत्तीर्ण गरेका थिए ।

तराई बसाई सराईपछि महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण) मा कक्षा ८ भर्ना भएर उनले २०३६ मा साधारणबाट एसएलसी उत्तीर्ण गरे । उनी साधारण स्कुलको कक्षा ८ को पहिलो ब्याचका विद्यार्थी हुन् ।

साधारण माविबाट एसएसली उत्तीर्ण भएपछि २०३६ सालदेखि चन्द शिक्षण गर्न थालेका हुन् । उनले २०३६ देखि २०३८ सम्म तीन वर्ष शान्ति निकेतनमा शिक्षण गरेका थिए ।

एसएलसी उत्तीर्णपछि चन्दले शिक्षण र पढाईलाई एक साथ निरन्तरता दिए । २०३८ मा शान्ति निकेतनमा अस्थायी नियुक्ति पाएका उनी ३ वर्षपछि प्राथमिक तहको स्थायी शिक्षक बने । त्यसको चार वर्षपछि निमावि अस्थायी नियुक्ति पाएका उनी २०५३ मा स्थायी नियुक्ति पाएका हुन् ।

दुई वर्ष अघि पाउनु पर्ने स्थायी नियुक्ति तत्कालिन जिल्ला शिक्षा कार्यालयका अधिकारीलाई घुस दिन नसक्दा ढिलो हुन पुगेको थियो । शिक्षा कार्यालयका कर्मचारीलाई दुई किलो घिउ घुस दिन नसकेपछि उनको नियुक्ति दुई वर्ष ढिलो भएको थियो ।

स्थायी नियुक्ति लिएर सत्यवादी माध्यमिक विद्यालय गएका उनी केही समयभित्रै शान्ति निकेतन फर्किए । २०५३ देखि २०५८ सम्म उनी शान्ति निकेतनको प्रधानाध्यापक भए ।

एसएलसी पढ्दा चन्दमा कम्युनिष्ट पार्टीप्रति झुकाव बढ्यो । विष्णु मानान्धरको अखिल पाँचौ आवद्ध भएर राजनीति थालेका उनी २०३६ मा शिक्षक शिक्षक संगठनमा लागेका हुन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनमा जिल्ला सदस्य हुँदै उपाध्यक्ष भएका उनी केन्द्रीय परिषद् सदस्यसम्म भएका छन् । हाल उनी शिक्षक संगठनले सञ्चालन गरेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका नेतृत्व गरि रहेका छन् ।

शिक्षक संगठनको राजनीतिमा सक्रिय चन्दले गत असार १५गते अनिवार्य अवकाश पाएपछि चुनावी मैदानमा होमिएका छन् ।
‘चुनाव लड्ने अवस्था आयो, पार्टीले भनेपछि म मैदानमा आए, पार्टी र जनताको चाहना अनुसार ६ नम्बर वडामा काम गर्छु’ उनले भने ।
उम्मेदवार चन्द सानोमा भारतीय सेनाको गोरखा रेजिमेन्ट(जीआर) बन्न चाहन्थे । त्यसका लागि उनले जीआरमा भर्ती हुन तीन पटक प्रयास गरे । उनी तेस्रो प्रयासमा आसाम राइफल्समा भर्ती भए । भर्ती भएपछि उनको मन फेरियो । उनी तालिममा सहभागी हुन छाडेर घर फर्किए ।

बुवा प्रताप चन्द भारतीय सेनामा भएकाले जीआरमा भर्ती हुने उनको चाहना थियो । बुवा प्रताप र आमा बिस्नादेबी चन्दको तीन छोरामध्ये उनी कान्छा हुन् ।

बहादुर चन्दको बालकको नाम बीर बहादुर चन्द थियो । सानोमा मोटो शरिर र साहसी स्वभाव भएकाले उनलाई सबै बहादुर भन्ने गरे । पछि उनको नाम बहादुर चन्द हुन पुगेको हो ।

चन्द शिक्षणसंगै खेलकूद जगत परिचित हस्तीका रुपमा चिनिन्छन् । उनी कबड्डी र हेण्ड बलका राष्ट्रिय खेलाडी हुन् । उनी भलिबलका पनि खेलाडी हुन् । भलिबलमा उनले क्षेत्रीय स्तरका प्रतियोगितासम्म खेलका छन् । चन्दले सुदूरपश्चिम प्रदेशका पहिलो भलिबल रेफ्रीका रुपमा आफ्नो नाम दर्ज गराएका छन् ।

‘जनताले सहीं मूल्याङ्कन गर्नेछ भन्ने आश छ,’ उम्मेदवार चन्द भन्छन्,‘त्यहीं आश भरोसाका साथ जनताको घरदैलोमा पुगेको छु ।’

१७ बुँदे प्रतिवद्धता पत्र बोकेर उनी चुनावी प्रचारमा छन् । सडक कालोपत्रे, ढल निकास, लागु औषध दुव्र्यसन नियन्त्रण, शुद्ध खानेपानीको व्यवस्था, सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउन लगायतको उनको चुनावी प्रतिवद्धता छन् ।

 

Himal dental
सम्बन्धित
Loading...