बेलौरीमा लोग्ने स्वास्नी झगडाले लियो यस्तो रुप, टाउकोमा इटा प्रहार गरी स्वास्नीले गरिन् लोग्नेको हत्या
महेन्द्रनगर । बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको आफ्नै श्रीमतीले हत्या गरेको खुलेको छ । आफ्नै घरको ट्वाइलेटमा चिप्लेर मृत अवस्थामा फेला परेको भन्ने खबर हिजो प्रहरीले प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक भास्कर चन्दको टोली घटनास्थलमा खटिएको थियो । घटनास्थलमा पुग्दा मृतको शव लडेको स्थानमा नभएर केही पर ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा फेला परेको थियो ।
प्रहरीका अनुसार ट्वाइलेट र बाथरुममा हेर्दा लडेको नभई हत्या गरेको अवस्थामा शव फेला परेको हो । मृतकको टाउको र तालुको विभिन्न भागमा काटिएको छ ।
घरभित्र खानतलासी गर्दा कोठा, कुर्सी, टेबल, ढोका लगायत स्थानमा रगतका छिटा देखिएको प्रहरीले बताएको छ । खाटमुनि रगत लागेको इट्टाको आधा भाग समेत फेला परेको छ । कोठामा रहेको दराजभित्र प्लास्टिकको सानो झोलाभित्र पुरुष र महिलाले लगाउने कपडाहरुमा समेत रगत देखा परेको छ ।
सोधपुछको क्रममा मृतकका श्रीमती ४३ वर्षीया जनककुमारी रानाले श्रीमान–श्रीमतीबिच विहिबार बिहान झगडा भएको र दिउसो श्रीमान् सुतेको अवस्थामा इँटाले उनको टाउकोमा हानी घटना आफूले घटाएको स्वीकार मृतकका श्रीमतीले गरेको प्रहरीले बताएको छ ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले रगत लागेको इँटा २ थान, रगत लागेको मोबाइल एक थान, जेब्रा ब्याग एक थान र रगत लागेको महिला र पुरुषका कपडाहरु बरामद गरेको छ ।