

वीरेन्द्र भट्ट
धनगढी । कञ्चनपुरमा श्रृंखलाबद्ध रुपमा हत्या हुन थालेको छ। एक महिनाको अवधिमा एक दम्पती सहित चार जनाको हत्या भइसकेको छ। हत्यामा संलग्न रहेको आरोपमा एक महिला र एक पुरुष पक्राउ परिसकेका छन्। तर दम्पती हत्यामा संलग्नको भने कुनै अत्तोपत्तो लागेको छैन ।
भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीय नरेन्द्रसिंह बिष्टले ३० वर्षीया श्रीमती ज्योती बिष्टको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ज्योतीको घाँटीमा हँसिया प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
हँसिया प्रहार गरेर श्रीमतीको हत्या गर्ने नरेन्द्रसिंहलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। नरेन्द्रसिंह नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक (असई) हुन् ।

शनिबार साँझ घरसायी विवादको विषयलाई लिएर विष्टले श्रीमतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए । विष्टले हत्या गरेकी ज्योती उनको कान्छी श्रीमती हुन् ।
विहिबार मात्रै बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको हत्या गरेको आरोपमा उनकी श्रीमती ४३ वर्षीया जनककुमारी राना पक्राउ परेकी थिइन । बिहीबार साँझ साढे ७ बजेको समयमा सियारामको शौचालयमा लडेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरिएको थियो । तर अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेको हो । त्यसपछि उनकी पत्नीलाई हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले बताए ।
मृतक लडेको भनिएपनि उनी शौचालयको ठाउँमा नभएर केही टाढा ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा भेटिएका थिए। मृतकको टाउकोमा काटिएको जस्तो चोटहरु देखिएका थिए। त्यसपछि मृत्यु नभएर हत्या भएको हो भन्ने निष्कर्षमा प्रहरी पुगेको थियो ।
सोधपुछकै क्रममा जनककुमारीले श्रीमान–श्रीमतीबिच बिहान झगडा भएको र दिउँसो श्रीमान् सुतेको अवस्थामा इँट्टाले टाउकोमा हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
साभार : दिनेश खबर
