महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ का नव निर्वाचित वडा अध्यक्ष प्रकाश चन्दले पदभार ग्रहण गरेका छन् । भीमदत्त नगरपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण पछि वडा कार्यालय गएर वडा अध्यक्ष चन्दले पदभार ग्रहण गरेका हुन् ।
भीमदत्त नगरपालिकाको नगर सभा कक्षमा मेयर पदम बोगटीले नव निर्वाचित अध्यक्ष चन्दलाई पद तथा गोपनियताको शपथ खुवाए ।
सशप ग्रहण कार्यक्रममा मेयर बोगटी सहित उप मेयर निलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, सबै वडाका जनप्रतिनिधि सहभागी भए ।
शपथ ग्रहणपछि वडा अध्यक्ष चन्द वडा कार्यालय गएर पदभार ग्रहण गरे । उनलाई कार्य वाहक वडा अध्यक्ष देबकी जोशी लगायतले स्वागत गरे । पदभार ग्रहण गर्दै वडा अध्यक्ष चन्दले उद्योग दर्ता सिफारिशमा सबैभन्दा पहिलो हस्ताक्षर गरेका छन् ।
भीमदत्त नगरपालिका ६ मा आइतबार भएको उप निर्वाचनमा चन्द निर्वाचित भएका हुन् । २०७९ को निर्वाचनमा निर्वाचित वडा अध्यक्ष महेन्द्र खड्काको गत वर्ष निधन भएपछि उप निर्वाचन भएको थियो ।
उप निर्वाचनमा चन्दले एक हजार एक सय सात मत ल्याएका थिए । उनी काँग्रेसको भीनपा ६ वडा कार्य समितिका सभापति हुन् ।
विद्यार्थीबाट राजनीतिमा आएका चन्द २०७४ को स्थानीय तह निर्वाचनदेखि वडाका अध्यक्षका आकाँक्षी थिए ।
पदभार ग्रहणपछि उनले उप निर्वाचनमा मत दिएर आफूलाई जिताउने सबैलाई धन्यवाद दिँदै आभार व्यक्त गरे । निर्वाचनमा उनले स्वर्गिय खड्का प्रतिवद्धता पूरा गर्ने वाचा गरेका छन् ।