महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ की जानकी चौधरीले दुई दशक अघि तालिम लिएर सिलाई कटाई सिकिन् । तालिमबाट सिकेर उनले सिलाई कटाई पसल हुँदै गार्मेन्टस सञ्चालन गरेकी छन् । उनले गार्मेन्टस सम्बन्धि तालिम पनि दिने गरेकी छन् ।
सीप सिकेर व्यवसाय सञ्चालन गर्दै आएकी उनीसित सीपको दक्षताको प्रमाण पत्र भने थिएन । पाँच महिना अघि सीप परीक्षणका लागि सूचना सार्वजनिक भएपछि आवेदन दिइन् । त्यसपछि सीप परीक्षण भएर उनी दक्षताको प्रमाण पत्रका लागि भइन् ।
बुधबार चौधरीले तह २ अन्र्तगत गार्मेन्टसको दक्षताको प्रमाण पत्र ग्रहण गरिन् । ‘२०÷२२ वर्ष अघि सीप सिकेर पसल, बुटिक, गार्मेन्टस सञ्चालन गर्दै आएकी छु, म ट्रेनिङ्ग पनि दिन्छु’ दक्षताको प्रमाण पत्र पाएपछि उनले भनिन्,‘अहिले यो सीपको प्रमाण पत्र पाएकी छु, यसले मलाई अब सीप सिकेको भनेर चिनाउँछ ।’
भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित गुरुकुल इन्स्टिच्युट अफ टेक्निकल प्रालिले चौधरी सहित १६ जनालाई दक्षताको प्रमाण पत्र प्रदान गरेको छ ।
भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, सामाजिक विकास कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त जोशी, सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको नेपाल व्यवसायिक योग्यता प्रणाली(एनभीक्यूएस) परियोजनाका प्रदेश व्यवस्थापक डिल्लीराज भट्ट र इन्स्टिच्युट प्रबन्ध निर्देशन भीम कुमालले उनीहरुलाई प्रमाण पत्र प्रदान गरे ।
सामाजिक विकास मन्त्रालयले स्वीस सरकारको सहयोगमा एनभीक्यूएस परियोजना सञ्चालन गरी सीप सिकेर लामो समयदेखि पेशा व्यवसाय गर्दै आएका जनशक्तिलाई सीप परीक्षण गरी दक्षताको प्रमाण पत्र दिएको हो ।
परियोजना अन्र्तगत गत असारमा सार्वजनिक सूचना गरी आवेदन लिएर सीप परीक्षण गरिएको थियो । सुदूरपश्चिममा सीप परीक्षणका लागि छनजौट गरिएको पाँच संस्थामध्ये कञ्चनपुरमा गुरुकुलमा सीप परीक्षण गरी प्रमाण पत्र दिइएको छ ।
परियोजानका प्रदेश प्रमुख भट्टले विभिन्न सीप सिकेर प्रमाण पत्र नभएर काम गर्दै आएका विभिन्न पेशाका जनशक्तिको सीप परीक्षण गरी प्रमाण पत्र दिइएको बताए ।
‘वहाँहरु वर्षौदेखि काम गरि रहनु भएको छ, सीप सिकेर काम चाहिँ गरि राख्नु भएको हो, तर आधिकारिक रुपमा सीप सिकेको केही प्रमाण थिएन’ उनले भने,‘वहाँहरुका लागि पूर्व सिकाईको मान्यता विधिद्वारा सीप गरिएको हो, त्यसका आधारमा वहाँहरुलाई प्रमाण पत्र दिइएको छ ।’
सीप परीक्षणका लागि सुदूरपश्चिमका सबै ९ जिल्लाका ६ सय ८२ जनाले सीप परीक्षणका लागि आवेदन दिएका थिए । उनीहरुमध्ये सीप परीक्षण परीक्षामा सहभागी ५ सय १३ मध्ये ४ सय ५४ जना तह १ र २ अन्र्तगत दक्षताको प्रमाण पत्रका लागि उत्तीर्ण भएका थिए ।
तह १ अन्र्तगत टाइल, मार्बल, रिपेरिङ्ग मेसन तथा तह २ अन्र्तगत गार्मेन्ट फेब्रिकेटरलाई सीप परीक्षणमा समावेश गरिएको छ ।
प्रदेश व्यवस्थापक भट्टका अनुसार परियोजना अन्र्तगत तह १ देखि तह ८ सम्मका सीपको परीक्षण हुने व्यवस्था छ ।
परियोजनाका प्रदेश व्यवस्थापक भट्टले प्राविधिक र सीपयुक्त शिक्षाको आवश्यकता स्वदेश र विदेश सबै ठाउँमा भएको उल्लेख गर्दै अहिले प्राविधिक शिक्षा अनिवार्य भएको उल्लेख गरे ।
भीमदत्त नगरपालिकाका उप मेयर जोशीले राजनीतिसंगै तालिम लिएर प्राविधिक सीप सिकेको बताइन् । सीप विकास तालिम केन्द्रबाट विद्युत वाइरिङ्गको तालिम लिएपछि श्रीमानसंगै आफूले विभिन्न स्थानमा काम गरेको उप मेयर जोशीले सुनाइन् ।
भीमदत्त नगरपालिकाले प्राविधिक र व्यवसायिक शिक्षालाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले आगामी दिनमा मन्त्रालयसित सहकार्य गरी अघि बढ्ने बताए ।
गुरुकुल इन्स्टिच्युट अफ टेक्निकल एजुकेशन प्रालिका प्रबन्ध निर्देशक कुमालले सीप सिकेर विभिन्न पेशा व्यवसाय गर्दै तर प्रमाण पत्र नभएका जनशक्तिको सीप परीक्षण दिएर प्रमाण पत्र दिने गरिएको बताए ।
कुमालका अनुसार सीप परीक्षणका लागि वर्षमा दुई पटक सार्वजनिक सूचना आव्हान गरी आवेदन संकलन हुने गरेको छ ।
गुरुकुलले सन् २००७ देखि कञ्चनपुरमा विभिन्न सीप तालिम सञ्चालन गर्दै आएको छ । हालसम्म ११ हजार भन्दा बढीलाई निःशुल्क रुपमा तालिम प्रदान गरिएको कुमालले बताए ।
‘निःशुल्क रुपमा तालिम दिएका छौ, त्यसैगरी रोजगारीमा पनि सहजीकरण गरि रहेका छौ’ उनले भने,‘सिटीइभिटीले सीप परीक्षणका लागि सुदूरपश्चिममा गुरुकुल सहित पाँच संस्था छनौट गरेको छ, वर्षमा दुई पटक सीप परीक्षणका लागि आवेदन खुल्ने गर्छ ।’
सरकारले प्राविधिक शिक्षामा ध्यान दिनु पर्ने उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारको प्राथमिकतामा प्राविधिक शिक्षा हुनु पर्नेमा जोड दिए ।
सामाजिक विकास मन्त्रालयका टंक उपाध्ययले कार्यक्रम सञ्चालन गरे ।