माओवादी केन्द्रका भीमदत्त नगर इन्चार्ज जोशीले भने–मदनचोकका २२ सटरका व्यवसायीलाई व्यवस्थापन गर्न पर्ने पक्षमा छौ
महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका भीमदत्त नगर इन्चार्ज लोकराज जोशीले मदनचोकमा २२ सटर भत्काएर विस्थापित व्यवसायीलाई व्यवस्थापन गरिनु पर्ने बताएका छन् ।
भीमदत्त नगरपालिकाकामा जारी २२ सटर निर्माण सम्बन्धि सर्बदलीय बैठकमा उनले व्यवसायीलाई सटर भत्काएको स्थानमा वा अन्यत्र जहाँ भए पनि व्यवस्थापन गर्न पर्नेमा पक्षमा भएका बताएका हुन् ।
उनले सटर भत्काएका स्थानमा मापदण्ड पालना गरी सटर बनाउन सकिने अवस्था भए त्यसमा व्यवस्थापन गर्न पर्ने बताए ।
एडीबीको सडक विस्तारका क्रममा ८ महिना अघि मदनचोकका २२ सटर भत्काइएका थिए । ती सटरका व्यवसायीलाई फेरि सोही स्थानमा व्यवस्थापन गर्ने गरी आश्वासन दिएर सटर भत्काइएको थियो ।
ती व्यवसायी सटर भत्काएपछि आफ्नो समान आफैंसित राखेका छन् । सर्बदलीय बैठक स्थल बाहिर २२ सटरका व्यवसायी पुगेका छन् । उनीहरु नगरपालिकालाई सटर बनाउन पटक पटक आग्रह गर्दै आएका छन् ।
यसैबीच सर्बदलीय बैठकबाट कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी बाहिरिएका छन् ।
सर्बदलीय बैठकमा व्यवसायीका समस्या तत्काल समस्या समाधान नभए कडा आन्दोलनमा जाने चेतावनी दिएर उनी बैठक छाडेर बाहिरिएका हुन् ।
भीमदत्त नगरपालिकाले मदनचोकस्थित २२ सटर निर्माणका लागि माओवादी केन्द्र सहितका राजनीतिक दलका युवा र विद्यार्थीबाट विरोध भएपछि सर्बदलीय बैठक बोलाएको हो । बैठकमा सत्ता गठबन्धनका काँग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलका नेता सहभागी भएका छन् ।
बाणिज्य संघका अध्यक्ष जोशीले आफूहरुको मागको सुनुवाई हुने अवस्था नदेखेपछि बैठकबाट बाहिरिएको बताए ।
‘उद्यमी व्यवसायीका कति समस्या छन्, व्यवसायीलाई जता पनि मार्का मात्रै पार्ने काम हुँदैछ, बैठकमा समस्या राखे, त्यसप्रति कसैको ध्यान भएन’ उनले भने,‘अब कडा आन्दोलन गर्छौ, आज बैठकमा पनि यही भनेर आएको छु ।’
मदनचोकका २२ सटर निर्माणलाई लिएर केही दिन अघि भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमलाई कार्यकक्षमा युवा विद्यार्थीले विभिन्न लाञ्छना लगाउँदै थर्काएका थिए । त्यसपछि नगरपालिकाले २२ सटर निर्माण सम्बन्धि छलफल गर्न सर्बदलीय बैठक बोलाएको हो ।