
उदयदेब बहुउद्देश्यीय सहकारीले तोक्यो व्यापार र कृषिमा १३ प्रतिशत वार्षिक ब्याजदर, शेयर सदस्यलाई १५.५८ प्रतिशत शेयर लाभांश वितरण


महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले व्यापार र कृषि कर्जाको वार्षिक ब्याजदर १३ प्रतिशत बनाएको छ । सहकारीको २६ औं साधारण सभाबाट यी दुबै कर्जाको ब्याजदर १३ प्रतिशत तोकिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले जानकारी दिएका छन् ।

प्रमुख कार्यकारी अधिकृत चन्दले सहकारीका सदस्यहरूलाई कर्जा लिने प्रक्रियामा सरलता ल्याउने र उनीहरूको आर्थिक क्रियाकलापलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको बताए ।

यसैगरी सहकारीले शेयर सदस्यलाई यस वर्ष १५ दशमलव ५८ प्रतिशत दरले शेयर लाभांश वितरण गर्ने निर्णय पारित गरिएको प्रमुख कार्यकारी अधिकृत चन्दले बताए । ‘यो लाभांश संस्थाको आर्थिक वृद्धि र मुनाफा अभिवृद्धिलाई प्रतिबिम्बित गर्द्छ’ उनले भने ।
प्रमुख कार्यकारी अधिकृत चन्दका अनुसार वित्तीय तथा प्रशासनिक विषयमा पनि छलफल गरी आगामी वर्षका लागि आर्थिक योजना तथा रणनीतिलाई प्राथमिकता दिइएको छ । सुदूरपश्चिम प्रदेशको ठूलो सहकारी संस्थाका रुपमा परिचित उदयदेबमा २५ हजार शेयर सदस्य छन् ।
