

महेन्द्रनगर । जनज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष भवानी चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष माधव प्रसाद जोशी प्रमुख अतिथि थिए । जिल्ला बहुयउद्देश्यीय सहकारी संघका अध्यक्ष प्रेम सिह भाट,भीमदत्त नगरपालिका सहकारी शाखा प्रमुख बिमला भाट विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा सहकारीका सचिव चक्र सिह प्वाली वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष महानन्द पाण्डेय आर्थिक तथा लेखा सुपरिवेक्षण प्रतिवेदन र कर्ण बहादुर भट्टले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरे । उक्त प्रतिवेदनमा संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा गरेका गतिविधि, आगामी वर्ष २०८१÷०८२ का लागि नीति, कार्यक्रम र अनुमानित बजेट समावेश गरिएको थियो ।
सहकारीमा हाल २ हजार ४ सय ३० शेयर सदस्य छन् । उनीहरुमा पुरुष एक हजार २५, महिला एक हजार ३ सय ७७ र २८ जना अन्य शेयर सदस्य छन् ।


सहकारीको आर्थिक वर्ष २०८०÷८१ सम्म एक करोड ६८ लाख ५० हजार ६ सय शेयर रकम पुगेको छ । हालसम्म सात करोड ७९ लाख बचत र सात करोड १९ लाख ऋण प्रवाह गरिएको छ । गत वर्षमा सहकारीसित १२ करोड सम्पत्ति वासलात थियो ।
साधारण सभाबाट आगामी वर्ष २०८१÷०८२ का लागि १० करोड ५० लाख ऋण लगानी र सोही रकम बराबर बचत संकलन गरी १६ करोड वासलात पुगाउने लक्ष्य राखिएको छ ।

साधारण सभाबाट देबकी पाण्डेयको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा चक्र सिह प्वाली, सचिव महानन्द पाण्डेय, कोषाध्यक्ष भुवन कडेल चयन भएका छन् ।
समितिको लेखा सुपरिवेक्षण समिति संयोजकमा कर्ण बहादुर भट्ट चयन भएका छन् । समितिमा चन्द्र गिरी र द्रोपती साउँद सदस्य छन् ।

कार्यक्रममा ज्येष्ठ नागरिक कर्ण बहादुर भट्ट, असल बचकर्ता जानकीदेबी चन्द, असल ऋणी करुणाकर शर्मा र बाल बचतकर्ता गोरङ्ग कार्कीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । सहकारीका सचिव चक्र सिह प्वालीले कार्यक्रम सञ्चालन गरेका थिए ।


