

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु गरेपछि बजेट खोजी गरेको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिकाको आइतबार बसेको बैठकले प्रतियोगिताका स्रोत खोज गरी बजेट जुटाउने निर्णय गरेको हो ।
कार्यपालिका बैठकमा सहभागी सदस्यहरुका अनुसार बैठकमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सहित विभिन्न खेलकूदका लागि बजेट व्यवस्थापन गर्ने निर्णय गरिएको हो ।

कार्यपालिका बैठकबाट राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सहित सबै खेलका लागि ४५ लाख बजेट खोजी गर्ने निर्णय गरिएको छ ।
भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमा खेलकूद क्षेत्रका लागि बजेट विनियोजन नभएपछि कार्यपालिका बैठकमा लगिएको हो । भीमदत्तमा पहिलो पटक चालु आर्थिक वर्षमा खेलकूद क्षेत्रका नगर सभाबाट बजेट विनियोजन हुन नसकेको हो ।
भीमदत्त नगर खेलकूद विकास समितिका अध्यक्ष शरद चन्दले नगर सभाबाट बजेट विनियोज नभएपछि कार्यपालिका बैठकबाट बजेट जुटाउने निर्णय गरी प्रतियोगिता गरिएको बताए ।
‘यो राष्ट्रपति रनिङ्ग शिल्ड सहित सहित खेलकूदका लागि नगर सभाबाट के कति कारणले हो, बजेट विनियोजन हुन सकेन, अहिले कार्यपालिका बैठकबाट बजेट व्यवस्थापन गर्ने निर्णय भएको छ’ उनले भने ।
नगर खेलकूद समितिले खेलकूदका लागि बजेट विनियोजन गर्न नगर सभामा कार्यक्रम बजेट पेश गरिएको अध्यक्ष चन्दले बताए । ‘नगर सभामा खेलकूद क्षेत्रका लागि बजेट माग गरी पेश गरेका थियौ, खै के कति कारणले बजेट विनियोजन हुन सकेन’ उनले भने ।

भीमदत्त नगर कार्यपालिकाका सदस्यहरुका खेलकूदका लागि बजेट आउने अनुमानित स्रोत नभएको भन्दै नगर सभाबाट बजेट विनियोजन नगरी पछि स्रोत खोजी बजेट व्यवस्थापन गर्ने निर्णय गरिएको थियो ।
आइतबार कार्यपालिका बैठकबाट निर्णय गरिएको बजेट खोजीका लागिका लागि रकमान्तर गरी व्यवस्थापन गर्न लागिएको हो । त्यसका लागि पुस महिनाभित्रै हुने हिउँदे नगर अधिवेशनमा पेश गरी अनुमोदन गर्र्ने तयारी छ ।
शनिबारदेखि सुरु १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २० लाख खर्च हुने अनुमान गरिएको छ । यस पटक आधारभूत तह विद्यालय स्तरीय प्रतियोगिता पनि समावेश गरिएको छ ।
यस अघि माध्यमिक तह कक्षा ८–१० का विद्यार्थीहरुले मात्रै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सहभागी हुँदै आएका थिए ।
भीमदत्तका मेयर पदम बोगटीले प्रतियोगिता उद्घाटन गर्दै भने, ‘यो जिल्लाको मात्र नभएर देशकै गहना ओलम्पियन डम्मर भट्ट, दिपक विष्ट, विष्णु सिंह, भलिबलका राष्ट्रिय प्रशिक्षक जगदिश भट्ट, कबड्डीका राष्ट्रिय प्रशिक्षक विष्णु प्रसाद भट्ट, क्रिकेटमा विश्व किर्तिमान बनाएका दिपेन्द्र सिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दिप जोरा, चन्द्र साउँद जस्ता विभिन्न विधाका थुप्रै खेलाडीहरु यही माटोका हुन् ।’ उनले भने ‘उहाँहरुले यो जिल्ला खेलाडीहरुको उर्वर भुमी भएको प्रमाणित गरि सक्नु भएको छ ।’
उनले अगाडी भने ‘हामीले हाम्रा खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन प्रदान गर्दै आएका छौँ । आगामी दिनमा समेत यहाँको खेल र खेलाडीहरुको विकासका लागि सक्दो सहयोग गर्नेछौँ ।’
यो जिल्लाबाट विभिन्न खेलामा राष्ट्रिय अन्तराष्ट्रिय तथा ओलम्पिक खेलमा प्रतिस्पर्धा र पदक प्राप्त गर्ने खेलाडीलाई उच्च सम्मान गर्दै उनीहरुबाट अहिलेको पुस्ताले सिक्नु पर्ने नगर प्रमुख बोगटीले बताए ।
कार्यक्रममा नगर उपप्रमुख नीलम लेखक जोशीले यस्ता खेलकुद प्रतियोगिताले युवाहरुलाई लागुऔषध दुव्र्यशन जस्ता गलत कार्यबाट जोगाउन र स्वस्थ रहन सहयोग पुग्ने बताइन ।
चार दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितमा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट गरी ४ विधाका खेलमा तीन हजारभन्दा बढी खेलाडी विद्यार्थीहरु सहभागी भएका छन् ।

