

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ इ हाजिरी सुरु गरिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको कार्यक्रम अनुसार कार्यालयमा इ हाजिरी सञ्चालनमा आएको छ ।
वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाले वडा कार्यालयका सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन इ हाजिरी सञ्चालन गरिएको बताए ।
‘वडा वासिन्दालाई चुस्त दुरुस्त र सहज रुपमा सेवा प्रवाह गर्ने वडा कार्यालयको नीति हो, त्यस अनुसार कार्यालयका कर्मचारी कार्यालयका कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ, त्यसका लागि समयमा आउने र समयममा जाने गर्नु पर्छ’ उनले भने,‘इ हाजिरीबाट कर्मचारीलाई ढिलो चाँडो भन्ने हुँदैन ।’
वडा कार्यालयले गत वर्षदेखि वडाका सबै कामकाज अनलाइनबाट सुरु गरेको थियो । वडा अध्यक्ष देवकोटाले २०७९ को स्थानीय तह निर्वाचनमा वडा कार्यालयका सेवा सुविधालाई कागज रहित अर्थात अनइलाइनबाट सञ्चालन गर्ने चुनावी प्रतिवद्धता गरेका थिए । त्यस अनुसार गत वर्षदेखि वडामा सेवा प्रवाहलाई पेपर रहित बनाइएको हो ।

वडा अध्यक्षले वडालाई सूचना प्रविधिमैत्री बनाउने अभियान अन्र्तगत कार्यालयमा वडा कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धि जानकारी दिन डिस्प्ले समेत जडान गरिएको छ ।
भीनपा १८ का वडा सचिव दिनेशराज भट्टले कर्मचारीले विहान कार्यालय आउँदा र कार्यालय समय सकिएपछि घर जाँदा इ हाजिरी लगाउनु पर्ने बताए । ‘यसबाट को कर्मचारी कति बेला आए, कति बेला गए भन्ने थाह हुन्छ’ उनले भने ।
यस वर्ष वडाले फेरि इ हाजिरी सञ्चालन गरेको हो । भीमदत्तमा १९ वडामा इ हाजिरी सुरु गर्ने १८ नम्बर वडा सबैभन्दा पहिलो बनेको छ ।
१८ नम्बर वडा भीमदत्तको सबैभन्दा मतदाता र जनसंख्या भएको वडा हो । महेन्द्रनगर बजारको आधा भाग सहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारसम्म वडा फैलिएको छ ।
भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्टको कार्यकालमा नगरपालिका कार्यालय र विद्यालयहरुमा इ हाजिरी जडान गरिएको थियो । कोरोना महामारीपछि इ हाजिरी बन्द हुन पुगेको थियो । कोरोना महामारीमा दुई मिटरको सामाजिक दुरी कायम गर्नु पर्ने र मेसिनमा थिच्दा संक्रमण फैलिने डरले इ हाजिरी लगाउन बन्द गरिएको थियो ।
कोरोना महामारीका कारण बन्द इ हाजिरी अहिलेसम्म सञ्चालनमा आएको छैन । भीमदत्त नगरपालिकाले केही दिन अघि बन्द इ हाजिरी सञ्चालन गर्ने निर्णय गरेको छ ।
भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरि सिह धामीले इ हाजिरी सञ्चालन लागि नगर कार्यपालिका बैठकबाट इ हाजिरी सञ्चालन व्यवस्थापन कार्यविधि बनाउने निर्णय गरिएको बताए ।
