

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ स्थित महाकाली नदीको श्री निवास रामानुज घाटमा मकर संक्रान्तिको अवसर पारी गंगा स्नान सुरु भएको छ ।
मंगलबार विहान घाटमा विभिन्न स्थानबाट आएका भक्त जनहरुले नदीमा स्नान गरे । भीमदत्त नगरपालिका १३ का वडा अध्यक्ष राम बहादुर बोहरा झकासले गंगा स्नान उद्घाटन गरे । उनले गंगा स्नान उद्घाटन गर्दै सबै भक्तजनहरुको मनाकोकाँक्षा पूरा हुने विश्वास व्यक्त गरे ।
भक्तजनहरुको स्नानपछि वडाभरि र यात्रा र महाकाली मातालाई एक हजार एक सय ८ लिटर दुध अभिषेक गरिएको छ । सुदूरपश्चिम प्रदेश सदस्य बेल बहादुर रानाले रथयात्रा उद्घाटन गरे । रथयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य रानाले मकर संक्रान्ति विशेष पर्व भएको र महाकाली नदीमा स्नान पवित्र भएको बताए ।


रथयात्रापछि भक्तजनहरुले महाकाली मातालाई एक हजार एक सय आठ लिटर दुधले अभिषेक गरे । श्रीनिवास रामानुज घाटमा देशभरका एक हजार ८ तिर्थस्थलको जल ल्याएर पवित्र गरिएकाले मकर संक्रान्तिमा बर्सेनी दुध अभिषेक गर्दै आएको वडा अध्यक्ष बोहराले बताए ।
माघ १५ गतेसम्म भक्तजनहरुले दैनिक महाकाली नदीमा स्नान गर्ने छन् । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास, बेलौरीबाट समेत भक्तजनहरु आएका छन् । माघ १५ गतेपछि उनीहरु देबघाट गएर स्नान गर्ने छन् । देबघाटमा पनि भक्तजनहरुले एक हजार आठ लिटर दुध अभिषेक गर्ने वडा अध्यक्ष बोहरा बताउँछन् ।
२०७२ देखि महाकाली नदीमा श्री निवास रामानुज घाट निर्माण गरिएको हो । घाट बनाउन स्वामी गोविन्द आचार्य महाराजले देशभर विराट यात्रा गरी एक हजार हजार आठ तिर्थस्थलको जल संकलन गरेका थिए । त्यही जललाई घाटमा अभिषेक गरी घाट सञ्चालन गरिएको थियो ।

विराट यात्रा अघि स्वामी गोबिन्द आचार्य महाराजले महाकाली माताका लागिसात दिनसम्म मौन ब्रत बसेर तपस्या गरेका थिए । गंगा स्नान लगायतका कार्यक्रममा भीनपा १३ नं. वडा कार्यालयले सहयोग गरेको हो ।

