ghar sansar

दोधारा चाँदनीको नगर प्रहरी छनौटमा व्यापक आर्थिक चलखेलको आरोप

हाकिमलाई विदा बसाएर सुरु गरिएको थियो नगर प्रहरी छनौट प्रक्रिया

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाको नगर प्रहरी छनौटमा आर्थिक चलखेल गरिएको आरोप लागेको छ । अहिले सामाजिक सञ्जाल (फेसबुक) मा नगर बनाउन आर्थिक लेनदेन गरिएको विषय व्यापक भएको छ । नगर प्रहरी बनाउन एक लाखका दरले आर्थिक लेनदेन गरिएको आरोप फेसबुकमा व्यापक बनेको छ ।

दोधारा चाँदनी नगरपालिकाले दुई महिना अघि नगर प्रहरी सहायक निरीक्षक, दुई हवल्दार र जवान सहित १५ जना छनौटका लागि सार्वजनिक सूचना गरेको थियो ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनी कार्यालयमा निवेदन दर्ता गरी नगर प्रहरी भर्ना छनौट गरिएको छ । त्यहीं छनौटमा नगर प्रहरी बनाउन प्रति जना एक लाखका दरले घुस मागिएको आरोप फेसबुकबाट सार्वजनिक भएको छ । घुस कसले मागेको भन्ने उल्लेख गरिएको छैन ।

फेसबुकमा रमेश भण्डारीले नगर प्रहरी सहायक निरीक्षक, हवल्दार र जवान कसको एक लाख रुपैँया घुस मागिएको भन्दै प्रश्न गरेका छन् । उनले यसलाई हदैसम्मको निर्जल्लता भनेर टिप्पणी गरेका छन् ।

‘कस्को रहेछ एक क्रमशः (१) असई (२) हवल्दार (३) जवान 
साच्चिकै भयसी….
हदैसम्मको निर्जलता….’ फेसबुकमा भण्डारीले उल्लेख गरे ।

नगर प्रहरी छनौटमा आर्थिक चलखेल गरिएको आरोप लगाउनेमा भण्डारी बाहेक अन्य पनि छन् । उनीहरु सबैले फेसबुकबाट आर्थिक चलखेलको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष लक्ष्मण तिवारीले एक लाखमा एक जना गज्जब भनेर फेसबुकमा टिप्पणी गरेका छन् । उनी दोधारा चाँदनीका स्थानीय हुन् ।

दोधारा चाँदनी नगरपालिकामा एमालेका किशोर कुमार लिम्बु मेयर छन् । प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्र विदा बसेका बेलामा मेयर लिम्बुले तत्कालिन निमित्त प्रमुख हरिदत्त जोशीलाई नगर प्रहरी छनौट प्रक्रिया बढाउन लगाएका थिए । नगर प्रहरी छनौट प्रक्रिया अघि बढेपछि मात्रै प्रमुख प्रशासकीय अधिकृत मिश्र कार्यालय फर्किएका थिए ।

छनौट प्रक्रिया सुरु भएपछि मेयर, उप मेयर र वडा अध्यक्षहरुबीच नगर प्रहरीमा भागबण्डा गरिएको आरोप सार्वजनिक भएको थियो । केही वडा अध्यक्षहरुले फेसबुकबाट यसबारे प्रष्ट पार्न मेयर लिम्बुलाई आग्रह गरेका थिए ।

इलाका प्रहरी कार्यालयमा मंसिर २० गतेसम्म आवेदन संकलन गरी नगर प्रहरी ऐन अनुसार भर्ना प्रक्रिया थालिएको थियो ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्ता हरि सिह धनाडीले नगर प्रहरी कार्य विधि अनुसार नगर प्रहरी छनौटका लागि इलाका प्रहरी कार्यालयसित सहयोग मागिएको बताएका थिए ।

नगरपालिकामा जग्गा, बाटाघाटो, कर संकलन लगायत कार्यका लागि नगर प्रहरी भर्ना गरिएको प्रवक्ता धनाडीले बताए ।

Himal dental
सम्बन्धित
Loading...