

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठक चार वर्षे कार्यकाल पूरा गरी व्यवस्थापन विभाग फर्किएका छन् । पाठक आफैंले आइतबादेखि आफू नियमित रुपमा व्यवस्थापन विभाग फर्किएको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।
पाठकले चार वर्षे कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद र आभार दिएका छन् । उनले पूर्व उपकुलपति अम्मराज जोशीको नाम लिएर आफूलाई मार्गदर्शन गरिएकोमा धन्यवाद दिएका छन् ।
पाठकले विश्वविद्यालयका वर्तमान उपकुलपति प्रा.डा. हेमराज पन्तको नाम उल्लेख गरेका छैनन् । पाठक र पन्त नातेदार हुन् । उपकुलति पन्त पाठकका भान्जा हुन् । आइतबार आफ्नो फेसबुकबाट आफ्नो धारणा सार्वजनिक गरेका छन् । त्यसमा उनले भिसीको नाम नलिई असन्तुष्टि सार्वजनिक गरेका छन् ।
पाठकले चार वर्षे कार्यकालमा आफ्नो धर्मपत्निले सहयोग गरेको उल्लेख गरेका छन् ।
‘चार वर्षे रजिष्ट्रारको कार्यकाल सम्पन्न गरी म आज मिति २०८२÷०१÷०७ देखि पुनः केन्द्रीय व्यवस्थापन विभागमा प्राध्यापकको रूपमा आफ्नो नियमित कार्यमा हाजिर भएको जानकारी गराउँदछु’ उनले भनेका छन्, ‘मलाई यो महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुहुने कुलपति ज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु । कार्यकालको दौरान मार्गदर्शन गर्नुहुने पूर्व उपकुलपति आदरणीय अम्मराज जोशी सर प्रति विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै, मेरो कार्यकालमा संस्थागत स्वार्थलाई प्राथमिकता दिँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सहयोग र सहकार्य गर्नुहुने विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी एवं सामाजिक व्यक्तित्व प्रति गहिरो कृतज्ञता प्रकट गर्दछु । मैले पाएको जिम्मेवारी कत्तिको पुरा गर्न सके त्यसको मूल्यांकन यहाँहरुबाट हुने नै छ । साथै समयले पनि गर्ने छ । चार वर्षको यस अवधिमा घरायसी जिम्मेवारीमा समय दिन नसकेको अवस्थामा पनि एउटा असल मित्रको रुपमा कहिले पनि गुनासो नगरी मलाई आफ्नो कर्तव्य बोध गराई सहयोग गर्ने जीवन संगिनीलाई पनि हृदय देखि नै धन्यबाद दिन चाहन्छु ।’
आगामी दिनमा सबैको साथ, समर्थन र मार्गदर्शनको अपेक्षा राख्दै उनले सुदूरपश्चिम विश्वविद्यालयको समग्र उन्नति र विकासका लागि आफ्नो तर्फबाट सक्दो योगदान पु¥याउने प्रतिवद्धता समेत गरेका छन् ।

पूर्व रजिष्ट्रार पाठकले वर्तमान भिसीको नाम नलिएपछि उपकुलपति पन्त र पाठकबीच टकरावपूर्ण सम्बन्ध रहेको व्याख्या गर्न थालिएको छ ।
विश्वविद्याल स्रोतका अनुसार पाठकले कार्यकाल सकिन लाग्दा भिसीलाई निर्माण व्यवसायीको भुक्तानीको प्रक्रिया अघि बढाएका थिए । त्यसमा उपकुलपति पन्तबाट अपेक्षाकृत सहयोग नपाएपछि उनी असन्तुष्ट बनेका थिए ।
पाठक आर्फैंले केन्द्रीय कार्यालय, व्यवस्थापन संकाय र इन्जिनियरिङ्ग भवन निर्माण कार्य सकिए पनि भुक्तानी दिन आनाकानी गर्दै आएका थिए । कार्यकाल सकिन लागेपछि पाठकले भुक्तानी प्रक्रिया अघि बढाएर भिसीलाई दबाव दिएका थिए ।
पाठकले अन्तिम समयमा भुक्तानी प्रक्रिया अघि बढाएपछि उनी विवादमा तानिए । विश्वविद्यालयका प्राध्यापकहरुले उपकुलपति पन्तलाई भेटेर भुक्तानी र सरुवा बढुवामा असन्तुष्टि जनाए । विद्यार्थी संगठनले तालाबन्दी गरेपछि पाठक भुक्तानी नदिएर बाहिरिएका छन् ।

पाठकले विद्यार्थी संगठनलाई मनाउन राति केन्द्रीय कार्यालय बोलाएर छलफल गरे । विद्यार्थी संगठनले नमानेपछि उनी भुक्तानी दिन नपाएर रजिष्ट्रारबाट बाहिरएका छन् । नातेदारका कारण उपकुलपति भुक्तानीका लागि चेपुवामा परेका थिए । त्यसपछि उनले भुक्तानीमा मौन बस्ने रणनीति मनस्थिति बनाएका थिए ।
चौतर्फी विरोध भएर तालाबन्दी भएपछि उपकुलपति भिसीलाई सहज भएको विश्वविद्यालयका प्राध्यापकहरुले बताए । रजिष्ट्रार बाहिरिएपछि उनी काठमाडौं हिँडेका छन् ।
निर्माण व्यवसायीलाई उनले नयाँ रजिष्ट्रार आएपछि भुक्तानी दिने आश्वासन दिएका छन् । निर्माण व्यवसायी संघ कञ्चनपुरले भुक्तानी नपाएपछि विश्वविद्यालयमा तालाबन्दी गर्ने घोषणा गरि सकेको छ ।
