

महेन्द्रनगर । कञ्चनपुरमा गत वर्ष प्रहरीले लागु औषध सहित दुई सय जनालाई नियन्त्रणमा लिएको छ । खुला सिमानाका कारण लागु औषध बोक्न लगाउने गरेका घटनाहरु जिल्लामा बढ्दै गएको गुनासो गरिएको छ ।
प्रहरीले भारतीय तस्करहरुलाई नियन्त्रणमा लिन नसकेपछि अहिले किशोर किशोरीहरु उनिहरुको जालोमा सजिलैपर्ने गरेको बेलडाँडीका स्थानिय हरिस चन्दले गुनासो गरे ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने लागूऔषध सेवन गर्ने र कारोबार गर्नेलाई प्रहरीले कार्वाही अघि बढाइएको जनाएको छ । बिहिबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १४ महिनामा गरेका उपलब्धीहरुबारे प्रकाश पार्दे एसपी चक्रराज जोशीले जिल्लामा लागू औषधको अवस्था चिन्ताजनक देखिएको बताए ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लामा लागूऔषध सहित २५५ पुरुष र ३२ महिला गरि २८७ जनालाई नियन्त्रणमा लिइएको थियो । उक्त आवमा ३३० ग्राम ब्राउन सुगर, ६ किलो १० ग्राम चरेश, ७८ ग्राम गाँजा, ५२० थान एम्पुल र ९२ थान ट्याब्लेट बरामद गरिएको थियो ।
यस्तै, आर्थिक वर्ष ०८१÷०८२ मा प्रहरीले लागू औषध सहित १८९ जना पुरुष र ११ जना महिला गरि दुई सयजनालाई नियन्त्रणमा लिइएको जनाएको छ । उक्त आर्थिक वर्षमा ३७३ ग्राम ब्राउन सुगर, २४ किलो चरेश, २ किलो गाजा, ४०० थान एम्पुल र १३३ थान ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी सागर बोहराले जानकारी दिए ।
०८१ साल फागुनको पहिलो साताबाट कञ्चनपुरको कमाण्ड सम्हाल्नुभएका एसपी जोशी सरुवा भएपछि पत्रकार सम्मेलन मार्फत उक्त अवधिमा भएगरेका प्रगती सार्वजनिक गरिएको हो । कार्यालयको तथ्याङ्क अनुसार विभिन्न अपराधमा मुछिएका १ हजार २६५ फरारमध्ये चालु आर्थिक वर्षको १० महिनामा ३९७ जना पक्राउ गरिएका छन् ।
प्रहरीले गत आर्थिक वर्षमा ६ करोड ३७ लाखभन्दा बढीको चोरीछलीका सामान बरामद भएकोमा चालु वर्षको वैशाख दोस्रो सातासम्म ६ करोड १६ लाखबराबरका अवैध वस्तु बरामद गरिएको जनाएको छ ।
यसैगरि प्रहरीले ३४३ क्युफिट अवैध काठसहित ११ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरिएको जनाएको छ । यस्तै गत वर्ष जुवातासमा संलग्न १ सय ७० जनालाई नियन्त्रणमा लिइ १२ लाख ३० हजारभन्दा बढी रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।
