
सानैमा समाज सेवामा सक्रिय सिया
पिपरियाका मृगौला विरामी चुदारोका लागि स्मारकमा स्टल राखेर संकलन गर्दै छिन् सहयोग

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ पिपरियाका कलक चुदारो केही दिनदेखि महाकाली प्रादेशिक अस्पतालमा भर्ना छन् । ४२ वर्षिय चुदाराको अस्पतालमा डाइलोसिस चलि रहेको छ । पाँच वर्ष अघि उनका दुबै मृगौलामा खराबी देखिएको थियो ।
मृगौला खराब देखिएपछि उनी नियमित रुपमा औषधि सेवन गर्दै आएका थिए । अहिले चिकित्सकले मृगौला प्रत्यारोपण गर्न पर्ने सल्लाह दिएपछि उनी अस्पताल भर्ना भएका छन् । केही समयपछि अस्पतालबाट रिफर भएर उनी प्रत्यारोपणका लागि अन्यत्र जाने छन् ।

मृगौला प्रत्यारोपणका लागि उनी कहाँ जाने छन् भन्ने अझै खुलेको छैन । उनी आर्थिक रुपमा सस्तो हुने ठाउँमा जाने उनका आफन्तहरु बताउँछन् । चुदाराको श्रीमति सहित आफन्त उपचारका लागि सहयोग जुटाउन लागेका छन् । उनीहरु विहानदेखि साँझसम्म गाउँ घरमा सहयोग मागि रहेका छन् ।
कमजोर अवस्थाको चुदारो परिवारसित उपचार खर्च जुटाउन नसक्ने अवस्था आएपछि सहयोग जुटाउन थालेको छ ।
महाकाली नदी किनार नर्सरी किनारमा चुदोरा परिवार बस्छ । नदी किनारको पाँच कट्टा जमिनमध्ये तीन कट्टा महाकाली नदीले बगाई सकेको छ ।
‘घरको अवस्था छ नाजकु छ, उपचार गर्न गर्न सक्ने अवस्था छैन, पहिला ५ कट्टा जमिन रहेछ, त्यसमा तीन कट्टा महाकालीले बगायो, अहिले दुई कट्टा बाँकी छ’ सामाजिक अभियन्ता सिया विकले भनिन् ।
सियाले चँदारोेसित चार पाँच वर्षदेखि चिनजान छ । मृगौला खराबी आएको वर्ष सियाले उनलाई चिनेकी हुन् । उनी चँदारोको घरसम्म पुगेकी छन् ।
अहिले सिया चुदारोलाई मृगौला प्रत्यारोपणका लागि सहयोग गर्न कस्सिएकी छन् । उनी चुदारोका लागि नौलो तरीका अपनाएर सहयोग संकलन गर्ने योजना तयारीमा छिन् ।
‘अहिले आफन्तहरु घर परिवार डुलि रहेका छन्, श्रीमति गाउँ घरमा डुलेर सहयोग संकलन गरि रहेकी छन्, यो बजारमा डुलेर सहयोग संकलन हुने अवस्था छैन’ उनले भनिन्,‘प्रत्यारोपण गर्ने भएकाले सानो तिनो सहयोग पुग्न पनि देखिदैन ।’
महेन्द्रनगर बजारको स्मारक क्षेत्रमा उनी सहयोग संकलनका लागि स्टल राख्ने तयारी गरेकी छन् । पानी पुरी मम, चाउमिन, लगायतका स्टल राखेर सहयोग संंकलन गर्ने उनले बताइन् ।
‘स्टल राख्ने प्रक्रिया थालि सकेका छौ, केही दिनमा स्टल सुरु गर्छाै’ उनले भनिन्,‘दुई चार दिनमा स्टल सुरु हुन्छ, त्यसबाट हुने आम्दानी उपचारका लागि सहयोग गर्छौ ।’
चुदारालाई आर्थिक सहयोग लेखिएको ब्यानर स्टलमा राखिने सियाले बताइन् । भीमदत्त नगरपालिका १३ वनकट्टीकी विक वारिधि कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत छिन् ।
उनी कलेज भर्नाको पहिलो वर्षदेखि उनी आर्थिक सहयोग संकलन लगायतका सामाजिक कार्यमा लागेकी हुन् ।
कैलालीको गोदावरी ४ का कृष्ण धामीको सहयोग संकलन अभियानबाट प्रभावित भएर उनले कमजोर अवस्थाका व्यक्तिका लागि सहयोग संकलन गर्ने अभियान सञ्चालन गर्दै आएकी छन् ।
सिया पहिलो वर्ष पढ्दा एक दिन धामीका आफन्त ब्यानर सहित कक्षा कोठामा आए । सबैले १०÷२० रुपैँया सहयोग गरे । धामीका आफन्तहरु निस्के । विकलाई त्यस अभियानबारे चासो लाग्यो ।
कक्षा कोठाबाट बाहिर निस्केर उनले धामीको सहयोग संकलनमा सहभागीहरुलाई सोधिन । उनीहरुको सबै कुरा सुनेपछि उनी आफू पनि सहयोग संकलन अभियानमा सहभागी हुने निधो गरिन् ।
उनीहरु सबैलाई लिएर उनी भीमदत्त नगरपालिका पुगिन् । भीमदत्तमा उनले उप मेयरसित भेटका लागि अनुमति लिइन् । केही कारणले उप मेयरसित भेट हुन सकेन ।
त्यसपछि उनी धामीको अभियानका सहयोगी लिएर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष गइन् । प्रमुख प्रशासकीय अधिकृतले चासो लिएर उनीहरुको कुरा सुनेर ५ हजार आर्थिक सहयोग गरे ।
प्रमुख प्रशासकीय अधिकृतलाई धन्यवाद दिँदै नगरपालिका बाहिर निस्केकी उनले त्यसपछि धामीका लागि दोधारा चाँदनीदेखि अत्तरियासम्म सहयोग अभियानमा सहभागी भइन् । ‘त्यसपछि अहिलेसम्म यो अभियानमा निरन्तर छु’ उनले सुनाइन् ।
कैलाली गोदावरी नगरपालिका ४ का कृष्ण धामी प्यारालाइसिसबाट पीडित थिए ।
भीमदत्त नगरपालिका १८ की ममता सुनारको उपचारका लागि पनि सियाले सहयोग अभियान सञ्चालन गरिन् । सुनारका पनि दुबै मृगौला खराबी देखिएको थियो ।
सिया भीमदत्त नगरपालिकाका गठन भएको उत्थानशिल युवा सञ्जालका संयोजक हुन् । ६ महिना अघि गठन भएको सञ्जालमा ५० जना सदस्य छन् ।
उनीहरु सबै विद्यार्थीहरु हुन् । सञ्जाल गठन भएपछि सामाजिक कार्यमा सहज भएको उनले बताइन् ।
अरुलाई सहयोग गर्दा आफूलाई खुसी मिल्ने विकले बताइन् । ‘अरुको पीडा कम हुन्छ, वहाँहरुको स्माइल हेरेर खुसी मिल्छ, त्यसैले म सहयोग अभियानमा लागेकी छु ।’
आर्थिक सहयोग बाहेक उनी बाढी लगाउतका विपत्तिमा सहभागी भएर सहयोग गर्दै आएकी छन् । बाढीको समयमा पीडितका घर बनाउने, राहत बाँड्ने, खेतबारीको बालुवा पन्छाउने, सफा गर्ने, वृक्षारोपण, सरसफाई गर्ने लगायतका कार्यक्रम गर्र्दै आएको उनी बताउँछिन् ।
उत्थानशिल सञ्जालले गर्मी याममा निःशुल्क पानी वितरण गरेको उनले बताइन् ।
उनका बुवा कृष्ण बहादुर विक नेपाल प्रहरीका वरिष्ठ हवल्दार छन् । आमा आमाको रङ्गादेबी विक गृहिणी हुन् । चार भाई बहिनीमा उनी माइली हुन् ।
सियाले भीमदत्त नगरपालिका १६ वसन्तपुरस्थित प्रभात विद्या निकेतनमा नर्सरीदेखि कक्षा १० सम्म पढेकी हुन्।
कक्षा १० पछि उनले आर्दश विद्या निकेतनबाट कक्षा १२ उत्तीर्ण गरी अहिले वारिधि कलेजमा बीबीएस अध्ययनरत छिन् ।
आमा बुवालाई खुसी राख्ने, राम्रो अफिसर बन्ने र देशको सेवा गर्ने आफ्नो लक्ष्य राखिएको उनी बताउँछिन् ।
