

महेन्द्रनगर । कञ्चनपुरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व कार्य सम्पादन परीक्षण गर्न थालिएको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत वर्ष सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरका पाँच सामुदायिक विद्यालयलाई प्रधानाध्यापकको नेतृत्व कार्य सम्पादन परीक्षणका लागि छनौट गरेको थियो । ती विद्यालयमा यस यस वर्ष केन्दले परीक्षण सुरु गरेको छ ।
परीक्षणका केन्द्रका परीक्षक बालकृष्ण अधिकारी कञ्चनपुर आएका छन् । अधिकारीले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको नेतृत्व कार्य सम्पादन परीक्षण साधन २०८१ का आधारमा परीक्षण सुरु गरिएको बताए ।
‘सुदूरपश्चिममा कञ्चनपुरका पाँच विद्यालय छनौट गरिएका थिए, त्यसमा भीमदत्तका ३ र पुनर्वासका दुई छन्, अहिले ती विद्यालयमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको नेतृत्व कार्य सम्पादन परीक्षण साधन २०८१ का आधारमा परीक्षण कार्य थालिएको छ’ उनले भने,‘परीक्षण साधनमा विभिन्न मापदण्ड छन्, त्यसका आधारमा परीक्षण गरि रहेका छौ ।’
भीमदत्तमा महेन्द्रनगर माध्यमिक विद्यालय कटान(साधारण, पूर्णा मावि ऐरी, महेश्वर मावि सुकासाल तथा पुनर्वासका सरस्वती मावि र पुनर्वास जनता मावि परीक्षणका लागि छनौट गरिएका हुन् ।
महेन्द्रनगर मावि कटानमा परीक्षण सकिएको छ । बुधबार पूर्णा मावि ऐरीमा परीक्षण कार्य गरिएको केन्द्रका परीक्षक अधिकारीले बताए ।
अधिकारीले सामुदायिक विद्यालयको गुणात्मक तथा परिणात्मक अध्ययनका लागि परीक्षण गरिएको बताए । ‘विद्यालयलमा भएका राम्रा प्रयासहरु के छन्, प्रअको प्रशासनिक नेतृत्व र प्राज्ञिक नेतृत्व बनाई विद्यालयको शैक्षिक शैक्षिक गुणस्तर सुधारका लागि खेल्न सक्ने भूमिका, असल अभ्यास, कमजोर पक्ष, के गरियो भने सुधार गर्न सकिन्छ भन्ने सहित गरिएको गुणात्मक र परिणात्मक अध्ययन हो’ उनले भने ।
परीक्षणका क्रममा विद्यालयका प्रधानाध्यापक सहित व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावक लगायत सरोकारवालासित परामर्श गरिएको अधिकारीले बताए ।
बुधबार पूर्णा माविमा व्यवस्थापन समिति अध्यक्ष पूर्ण सिह क्षेत्री, प्रधानाध्यापक धनीदत्त पन्त लगायत शिक्षक विद्यार्थीसित विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे जानकारी लिइएको छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रका परीक्षक अधिकारीले विद्यालयहरुमा पूर्ण रुपमा शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउन नसकिएको देखिएको जानकारी दिए ।
शिक्षण विधिमा प्रविधियुक्त बनाउनु पर्ने आवश्यकता अधिकारीले औंल्याए । ‘अहिले हाम्रो शिक्षण विधि पिसीके छ, यसलाई अब पूर्ण रुपमा टीपिसस्के रुपान्तरण गर्न जरुरी छ’ उनले भने ।
सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन तालिम, आइसीटी समान वितरण लगायतक कार्यक्रम हुँदै आएका छन् ।
पूर्णा माविका प्रधानाध्यापक पन्तले परीक्षणबाट विद्यालयका कमीकमजोरी बाहिर आएर सुधार गर्न सहयोग पुग्ने बताए ।
‘यो प्रअसंगै समग्र रुपमा विद्यालयको मूल्याङ्कन हो, स्टाफको राय लिनु भएको छ, कमीकमजोरी आँकलन गरिएको छ’ प्रधानाध्यापक पन्तले भने,‘यसबाट हामी कहाँ छौ, अवस्था के छ, सबै थाह हुन्छ, यसका आधारमा सुधार गर्न सहयोग पुग्छ ।’
शिक्षण पेशाबाट अनिवार्य अवकाश लिने बेला आफ्नो कार्य सम्पादन नेतृत्वको परीक्षण भएकोमा प्रधानाध्पापक पन्तले खुसी व्यक्त गरे ।
३३ वर्षदेखि पूर्णामा कार्यरत अंग्रेजी विषयका शिक्षक पन्त पाँच वर्षदेखि प्रधानाध्यापक छन् । उनी आगामी असार १ गते अनिवार्य अवकाश पाउने लागेका छन् ।
पन्तको शिक्षण अवधि ३७ वर्ष तीन महिना पुगेको छ । ‘यो मेरो शिक्षण पेशाको पहिलो दिन हो, आज मेरो कार्य सम्पादनको परीक्षण भयो’ उनले भने,‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यसलाई आगामी दिनमा निरन्तरता दिन आग्रह गर्छु ।’
प्रधानाध्यापक पन्तले आफ्नो पाँच वर्षे कार्यकालमा भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर सुधारका कार्यलाई प्राथमिकता दिएको बताए ।
पूर्णा माविपछि महेश्वर माविमा परीक्षण हुनेछ । त्यसपछि पुनर्वासका दुई विद्यालयमा परीक्षण गर्ने कार्यक्रम छ ।
कञ्चनपुुरका पाँच विद्यालयको परीक्षण देशका अन्य विद्यालयहरुलाई पनि शैक्षिक गुणस्तर सुधारका लागि सहयोग हुन सक्ने शैक्षिक गुणस्तर परीक्षण केन्द्रका परीक्षक अधिकारीले बताए ।
‘यो अध्ययनबाट अन्य विद्यालयले राम्रो नराम्रो विषयको जानकारी पाएर शैक्षिक गुणस्तर सुधारका कार्य गर्न सक्छन्’ उनले भने,‘त्यस बाहेक यो परीक्षण विद्यालयहरुलाई अनुभव आदानप्रदानको विषय पनि हुन सक्छ ।
