

महेन्द्रनगर । बेदकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । शुक्रबार सो पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितीका अध्यक्ष दुर्गादत्त बोहराले नगरप्रमुख भोजराज बोहरालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणाको प्रमाण हस्तान्तरण गरेका थिए ।
नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकामा रहेका १० वटै वडाका जन्मेदेखि ५९ महिनाका बालबालिकाहरुले सबै खालका खोप पाएको सर्वेक्षणपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता घोषणा गरिएको जिल्ला समन्वय समिती कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले जानकारी दिए ।

सबै वडामा गरिएको खोपको सर्वेक्षण अनुसार कोही पनि खोपबाट बञ्चित नभएकाले दिगोपना घोषणा गरिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाका १० वडामा अनुगमन गर्दा जन्मेदेखि ५९ महिनाका नौं सय १७ जना बालबालिकाहरुले नियमित रुपमा खोप पाएकाले यस वर्ष जिल्लामै पहिलो पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा पालिका गरिएको पालिकाको स्वास्थ्य शाखाका प्रमुख हरिसा पालले जानकारी दिइन् ।
सर्वेक्षणको क्रममा १६ देखी ५९ महिनाका ५२ जना बालबालिका र १५ महिना मुनिका ६ जनाले आंसिक र नियमित खोप लगाउन छुट भएको पाइएको स्वास्थ्य शाखा प्रमुख पालले जानकारी दिइन् । पालले भनिन् ‘सर्वेक्षण पश्चात् सबै बालबालिकाहरूलाई छुट खोप पूर्ण रूपमा प्रदान गर्न सफल भएका छौँ ।’
स्वास्थ्य मन्त्रालयको खोप तथा रोग नियन्त्रण महाशाखाले तय गरेका मापदण्डहरू पूरा गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको उनले जानकारी दिइन् ।
नगरपालिकामा नौ सय १७ जना बालबालिकाले आवश्यक सबै नियमित खोप पाइरहेको जनाइएको छ । यहाँका बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला निकायहरूको संयुक्त प्रयासमा पूर्ण खोप अभियानलाई सफल भएको बेदकोट नगरपालिका नगर प्रमुख भोजराज बोहराले बताए ।
बालबालिकाले उमेर समुह अनुरुप पाउनु पर्ने पूर्ण खोप झाडापाखाला विरुद्ध, पोलियो, दादुरा, बिसिजी, डिपिटी, पिसिजी, एमआर, टिटानस जस्ता घातक रोगहरूबाट बचाउने भएकोले यसको पहुँच सबैसम्म पुर्याउनु अत्यन्त जरुरी रहेको उनले बताए ।
